‘के महिलाहरु डिस्को–बार जानु र पिउनुको अर्थ रेप गर भनेर बोलाउनु हो ?’

diyopost.com
दियो पोस्ट  शुक्रबार, भाद्र ३१, २०७९ | १६:४८:४२

गाउँबाट भर्खरै सहर आएकी म यहाँको सबथोक नयाँ जस्तो लाग्दै थियो । एकजना चिनजानको दिदी हुनुहुन्थ्यो । उहाँको माध्यमबाट नै मैले रमा दिदी (नाम परिवर्तन) लाई चिनेकी थिएँ । त्यो दिदीसंग धेरै कुराकानी हुन थाल्यो ।

फेसबुकमा पनि हामी धेरै बोल्थ्यौं । हाम्रो कुराकानी बढ्दै गर्दा एकदिन रमा दिदीले मलाई कोठामा बोलाउनु भयो । मेरो लागि नयाँ ठाउँ कसैलाई चिनेको थिइनँ । कहाँ जाने एक्लै ? त्यसैले उहाँले बोलाएपछि म उहाँको डेरामा गएँ । दिनभर हामी कुराकानी गर्दै बस्यौं ।

साँझ परेपछि एक्कासी क्लब जाने योजना बन्यो । रमा दिदीले क्लव जाने भनेर भन्नुभयो । पहिला पनि म २–४ पटक क्लब गइसकेकी थिएँ । दिदीले भनेपछि मलाई पनि जान मन लाग्यो । मैले उहाँको प्रस्तावलाई सहजै स्वीकार गरें । त्यसपछि हामी तयार भएर निस्कयौं।

हामी क्लब पुग्यौं । दिदी र म दुवैले ड्रिंक गर्यौं। हामी कुराकानी गर्दै खाने पिउने गरिरहेका थियौं । त्यहिबेला एकजना केटा आयो । त्यो केटा रमा दिदीको चिनजानको केटा नै थियो । उसको नाम राजन९नाम परिवर्तन०थियो । दिदीले परिचय गराएपछि सामान्य औपचारिक कुरा मात्रै भयो । त्यसपछि उ खै कता निस्क्यो, थाहा भएन।
हाम्रो कुराकानी र खानपिन चलिरहेको नै थियो । फेरि त्यो राजन हामी बसिरहेको ठाउँमा आइपुग्यो । मैले केही सुन्न सकिन खै त्यो राजनले दिदीको कानमा के भन्यो । दिदीले एकछिनमा भन्नुभयो,“भाइले अर्को ठाउँमा जाने भनेको छ, जाने हो ? मैले सोधे, कहाँ ? उहाँले एलओडी जाने भन्नुभयो । म त्यो दिन भन्दा पहिला कहिल्यै एलओडी गएको थिइनँ । नाम भने सुनेकी थिएँ । हुन्छ जाम भन्ने लाग्यो । रमा दिदी, त्यो केटा (राजन) र म भएर र हामी तीन जना एलओडीतर्फ लाग्यौं । त्यहाँ पुग्दा अर्को एकजना केटा मान्छे हामीलाई पर्खिरहेको थियो ।

हामी एलओडी भित्र छिर्यौं। दिदी र त्यो केटा कुराकानी गरिरहेका थिए । मलाई पछि दिदीले त्यो केटा आफ्नो पहिलाको बोएफ्रेन्ड हो भनेर चिनाउनु भयो । उसको नाम कमल (नाम परिवर्तन) थियो । रमा दिदी र उहाँको पहिलाको व्बाइफ्रेन्ड बाहिर कुराकानी गर्न थालें। म भित्र नै थिएँ । त्यसपछि राजन म संग नजिकै आएर बोल्न खोज्यो। तर, मलाई उसको त्यो बानी राम्रो लागिरहेको थिएन । मेरो ग्लास रित्तिन नपाँउदै उसले ड्रिंक थपिदिरहेको थियो । मलाई पुग्यो भन्दाभन्दै उसले जबर्जस्ती पिलायो । मलाई एकदम धेरै गाह्रो भइसकेको थियो ।

मैले रमा दिदीलाई धेरै पिइसकेको छौं, अब निस्कौं र घर जाम भने । दिदीले पनि हुन्छ भन्नुभयो । हामी त्यहाँबाट निस्कयौं ।
दिदीलाई मेरो बस्ने ठाउँसम्म छाडिदिनु भने । उहाँले भन्न् भयो की,“हामीले धेरै पिएका छौं । हामी मातिराछौं । बरु सबैजना होटलमा बसौं । तिमी र म एउटा कोठामा सुतौंला । उनीहरु अर्को कोठामा सुत्छन् ।”

म बस्ने ठाँउ टाढा थियो । त्यसमाथि रातिको समयमा पिएको बेला दिदीले भनेको ठिकै लाग्यो । त्यसपछि हामी ट्याक्सी लिएर एउटा होटलमा गयौं । तर, त्यहाँ कोठा रहेनछ । फेरि अर्को होटलमा गयौं । त्यहाँ पनि एउटा मात्रै कोठा रहेछ रे । शायद धेरै नै ड्रिंक गरेकाले होसमा थिइन। मैले अलिअलि थाहा पाएकी थिएँ । त्यसपछि सुरुमा भेट भएको केटा, दिदी र म कोठा तर्फ लाग्यौं ।

कोठामा पुगेर हेर्यौं । त्यहाँ स–साना दुइवटा बेड रहेछन् । सुत्नलाई असहज होला जस्तो लाग्यो । राजन बेडमा गएर सुतिहाल्यो । रमा दिदीले भन्नुभयो,“एउटा मात्रै रुम रहेछ के गर्ने ?” एकदम गाह्रो भइरहेको थियो मलाई त्यसैले मैले भनें,“तपाईं र म यही बसौं । उनीहरूलाई घर पठाइदिँउ ।”
त्यसपछि दिदीले पहिला राजनलाई “भाइ घर जाउ” भनेर भन्नुभयो तर ,बढी पिएकाले घर जान गाह्रो हुन्छ भन्दै उसले मानेन । उ घर जान नमानेपछि आफैं जान ठिक होला जस्तो लाग्यो । त्यसपछि दिदीलाई हामी दुईजना घर जाम, उनीहरू बस्छन् भने । “हुन्छ म मेरो एक्स बोएफ्रेन्ड संग कुरा गरेर आउँछु, तिमी बस्दै गर भन्नुभयो ”भनेर दिदी जानुभयो ।

म उभिन सम्म सकिरहेकी थिन । त्यसैले दिदी तल नै हुनुहुन्छ, आउने बेलासम्म अर्को बेडमा सुत्छु भनेर सुते । त्यस पश्चात के भयो मलाई याद छैन । बिहानको करिब साढे चार बजेको थियो सुत्दा ।
बिहान ६ बजेतिर म ब्युझिएँ । मेरो गुप्ताङग नराम्ररी दुखेको महसुस भयो । मलाई उठ्न पनि गाह्रो भइरहेको थियो । म रुन थाले । बेडमा हातले हिर्काउनु थाले । त्यसपछि राजनले म ब्युँझेको थाहा पाएर त्यहाँबाट भाग्यो । एकछिनमा मैले आफ्नो शरीर तिर नियालेर हेर्दा मेरो शरीरमको भित्री बस्त्र समेत थिएन । राति सुत्दा त म ठिकै थिएँ । ढोका पनि लगाएर सुतेकी थिएँ । तर, ढोका पनि खुल्ला छ । म एकछिन अन्योलमा परे । मलाई हिड्न निकै गाह्रो भएको थियो । बिस्तारै ढोका सम्म पुगेर चुकुल लगाएँ । एकछिनमा याद आयो, म राति सुत्ने बेलामा अर्को बेडमा केटा थियो । त्यसपछि मात्र थाहा भयो,म माथि बलात्कार भएको रहेछ ।
अनि म कोठाबाट तल झरें । म सुतेको कोठामा भएका अरु तीन जना खोइ ? रिसेप्शनमा बसिरहेको भाइलाई सोधें । उसले भन्यो,“२ जना पहिल्यै गएका थिए । एउटा केटा चाहिँ अगाडि भर्खरै गयो । शायद अर्को होटलमा गए कि ।”

हामी सुरुमा पसेको होटल रमा दिदिले चिनेको बताउनु भएको थियो । त्यतै गए होला भनेर अनि म त्यही होटलमा गएँ । त्यहाँ सोध्दा उनीहरू छैन्न भने । मैले उनीहरु सुतेको कोठा नदेखाए पुलिसलाई खबर गर्छु भन्दा पनि छैन नै भने । त्यसपछि मलाई डर लाग्यो । मेरो मोबाइल पनि अफ भएको थियो । अनि रिसेप्शनको भाइको फोन मागेर १०० मा कल गरें । दरबारमार्गको पुलिस आयो ।
पुलिसले त्यहाँ सोधपुछ ग¥यो । अनि होटलमा गएर सोध्दा रमा र उसको ब्वाइफ्रेण्ड बिहान चारै बजे निसकेको बताए । उनीहरुले मलाई त्यही छाडेर केटाको कार निकालेर कहाँ गएछन्, पत्तो भएन ।
मसँग ती केटाहरूको नम्बर हुने कुरा त भएन । रमा दिदीको मात्रै नम्बर थियो । त्यही नम्बर पुलिसलाई दिएँ । पुलिसले फोन गर्यो तर, फोन उठेन । मैले पनि कति पटक गरें । तर, दिदीले फोन रिसिभ गर्नुभएन ।
म पुलिससँगै थानामा गएर बसे । दिउँसो २ बजेतिर रमा दिदीले कल गर्नुभयो । म पुलिस थानामा नै थिएँ । दिदीले आँफू र कमल घुम्न बाहिर निस्केको भन्नुभयो । पुलिसले सिकाए जसरी नै होटेलमै छु, कोठाको भाडा तिर्ने पैसा पनि छैन भने ।
‘पैसा नभएर होटलमा नै बसेकी छु । तपाईंको भाइ अगाडि नै निस्केको रे’, मैले भने ।
त्यसपछि म होटलतर्फ दुइजना पुलिसहरु सँगै गएँ । उनीहरु आएर रमा दिदीले चिनेको होटलमा छिरे । अनि पुलिसले कारसँगै रमा दिदी र कमललाई पक्राउ गर्याे। दिदीले राजनलाई कल गर्दा उसले भन्यो, ‘तपाईंको बहिनी एक्कसी निद्रामा चिच्यायो अनि डर लागेर म निस्किएँ ।’
दिदीले त्यो केटालाई बोलाउनु भयो तर उसले, म आज आउन सक्दिन, भोलि आँउछु भन्यो ।
तर, भोलिपल्ट पनि उ आएन । त्यसपछि मैले बलात्कारको जाहेरी दिए । पुलिसले खोज्छु भनेको थियो तर अहिलेसम्म खोजेको छैन । मेरो अस्पतालमा चेकअप गरेको रिपोर्ट पनि पुलिस आँफै ल्याँउछु भनेर मलाई दिएको छैन। खै, रिपोर्ट कस्तो आएको छ । मलाई थाहा नै छैन ।
मलाई इन्फेक्सन भइसकेको रहेछ । मेरो गुप्ताङग सुन्निएको थियो । डाक्टरले औषधि पनि दिएको थियो ।
राजनले मलाई बलात्कार गर्नुअघि म रजस्वला

भएको दुई–तीन दिन भएको थियो । त्यसपछि एकदमै ब्लिडिङ भयो । यति धेरै दुखाइ मैले कहिल्यै खपेकी थिएन । इन्फेक्सन भएपछि किड्नीमा समस्या भएको रहेछ । पेट धेरै दुखेर राति नै टिचिङ अस्पताल गएँ । त्यहाँको हो–हल्ला र बेड समेत नभएको कारण म फर्कें । घरमा आएर औषधि त खाएँ तर बिहानपख फेरि गाह्रो भयो र अस्पताल गएर इमरजेन्सीमा भर्ना भएँ ।

उसको परिवारले केटा सम्पर्कमा छैन भन्छ । म अस्पतालमा हुँदा उसको दाइ, आमा र आन्टी आएका थिए । सम्पर्कमा छैन पनि भन्छ उसको परिवार फेरि छोराले,“मैले त्यस्तो केही गरेको छैन भनेको छ”पनि भन्छ। सम्पर्कमा नआइ कसरी उसले यो कुरा भन्यो त ? उसको परिवारले नानाथरी भनेर मेरो परिवारलाई समेत दुख दिएको छ । यदि उनीहरुको छोराको गल्ती नै छैन भने किन लुकाउनु पर्यो ?
केटी मान्छे क्लब जान नहुने हो र ? के केटी मान्छेले पिउनु हुँदैन हो ? केटी मान्छे मात्रै किन चरित्रहीन हुन्छे ? केटा मान्छेलाई यो समाजले, कानुनले जे गर्न पनि छुट दिएको छ ?
मलाई डर छ, लाग्छ मैले न्याय पाउँदिन । तर, डरैडरले मानसिक रोगी भएर बाँच्नु भन्दा म आँट गरेर लडिरहेकी छु ।

सम्बन्धित खबर