काठमाडौं । काठमाडौंको खुसीबुमा रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुको मुद्दती निक्षेपमा ‘परिपक्व’ भइसकेको करोडौँ रुपैया फिर्ता नगर्ने संकेत गरेको छ । विघटित गोर्खा विकास बैंकका अध्यक्ष डीबी बम्जनले आफ्ना बहिनीज्वाइँको नाममा उक्त सहकारी सञ्चालन गरेका थिए र सहकारीका नाममा कालोधन राखेर घरजग्गामा लगानी गरेको स्रोतले दाबी गरेको छ ।
कोरोना महामारीपछि अर्थतन्त्रमा आएको मन्दीसँगै घरजग्गाको कारोबार प्रायः ठप्प भएपछि लालीगुराँस सहकारीले बचतकर्ताहरुको ‘परिपक्व’ भइसकेको करोडौँ रुपैयाँ फिर्ता दिन सकेको छैन । लालीगुराँस सहकारीमा करोडौँ रुपैयाँ राखेका व्यक्तिहरु दुई वर्षदेखि रकम फिर्ता नपाएपछि तनावमा छन् । संस्थाका सञ्चालकहरु उजुरी गरे ठूला बचतकर्ताहरुलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी गर्ने धम्की दिएर तर्साइरहेका छन् र त्यही धम्कीको कारण बचतकर्ताहरुले उजुरबाजुर पनि गर्न सकेका छैनन् ।
करोड रुपैयाँभन्दा कम बचत गरेका बचतकर्ताहरु भने रकम लिन संस्थामा दिनहुँजसो धाइरहेका छन् । तर सधैँ धाए पनि उनीहरुले आफ्नो रकम फिर्ता पाउनसकेका छैनन् । रकम फिर्ता लिन चाहनेहरुले उक्त सहकारीका सञ्चालकहरुसँग भेट गरेर आफ्नो चित्त बुझाउने प्रयास गरे पनि त्यो मौका पनि पाएका छैनन् । यसले सहकारीका निक्षेपकर्ताहरुलाई थप तनाव पारेको छ ।
लालीगुराँस सहकारीमा एक करोडभन्दा कम ९९ लाख रुपैयाँसम्म मुद्दती बचतमा राखेर रकम फिर्ता नपाएका पीडितहरुमा शान्ति कुमारी मानन्धर, मञ्जु महर्जन, कुवेश श्रेष्ठ, रविन्द्र तण्डुकार, नानु श्रेष्ठ, ललिता स्थापित, अमर बहादुर मानन्धर लगायतका छन् ।