टाट पल्टिएको उदयपुर सिमेन्टका महाप्रबन्धक न्यौपानेलाई लाखौँ रुपैयाँ अवैध भत्ता !

दियो पोस्ट  

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगलाई टाट पल्टाएरपनि नाफामा गएको भन्दै फूर्तीफार्ती गर्दै हिँडेका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले गैरकानुनी रुपमा लाखौँ रुपैयाँ भत्ता लिने गरेको पाइएको छ ।

उद्योग र महाप्रबन्धकबीच कुनै सम्झौता विपरित विविध शिर्षकमा लाखौँ रुपैयाँ भत्ता लिने गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
नेपाल सरकारको अनुदान र ऋणको भरमा चलेको उद्योगबाट महाप्रबन्धक न्यौपानेले वार्षिक रुपमा १७ लाख भन्दा बढी तलब र भत्तामै बुझ्ने गरेको भेटिएको छ ।

उद्योगको महाप्रबन्धकको रुपमा २०७७ माघ १ देखि कार्यरत रहेका उनलाई कार्यालयले तलब भत्ता र क्वार्टर गाडीको समेत सुविधा उपलब्ध गराउँदै आएको छ । तर, उनले विभिन्न शिर्षकमा लाखौँ रुपैयाँ बुझेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । उनले तलब मात्रै १२ लाख १२ हजार ५ सय ८८ रुपैयाँ बुझेका छन् । त्यस्तै सञ्चयकोष बापत ८९ हजार ८ सय ६८ रुपैयाँ बुझेका छन् । अदृष्य खर्चका लागि ३ लाख रुपैयाँ लिएका छन् । भत्ता मात्रै २६ हजार ५ सय रुपैयाँ लिएका छन् । विदाको समेत भत्ता बापत ८१ हजार १ सय १५ रुपैयाँ लिएका छन् । पोसाक भत्ता र अनय शिर्षकमा २९ हजार लिएका छन् ।

वार्षिक प्रतिवेदन अनुसार न्यौपानेले वार्षिक १७ लाख ४९ हजार रुपैयाँ लिएका छन् । जबकी महाप्रबन्धकले उद्योगसँग कुनै पनि व्यापारिक सम्झौता वा कार्य नगरेको प्रतिवेदनको ठहर छ ।

 

२०४९ साल माघ १ गतेदेखि नेपाल सरकारको पूर्ण स्वामित्वमा उत्पादन शुरु भएको यो उद्योगमा जडित सिमेन्ट उत्पादन क्षमता दैनिक ८ सय ४० मेट्रिक टन हो । तर क्षमताको आधा उत्पादन पनि नगरी विद्युत महशुल भने पूर्ण रुपमा बुझाउँदै आएको यो उद्योग यतिबेला धरासायी बन्दै गएको छ । उद्योगले नेपाल सरकारलाई मात्रै अर्बौं ऋण बोकेर बसेको छ ।

महाप्रबन्धक न्यौपानेका कारण टाट पल्टिँदै उदयपुर सिमेन्ट : क्लिंकर उत्पादन छैन, झूटो प्रचार !

सम्बन्धित खबर