
काठमाडौं । सडकमा छरपस्ट ढुंगा दुर्घटनाका कारण बन्छन् । ढुंगा हटाइदिने हो भने सम्भावित दुर्घटना टर्छ । ललितपुर महानगरपालिकाले छरपस्ट ढुंगालाई फ्याँक्ने होइन, तिनमा विभिन्न सन्देश कोरेर दुर्घटना रोक्ने माध्यम बनाएको छ । पुलचोकबाट मंगलबजार जाने सडककिनारमा चेतनामूलक सन्देशका साथ सजाइएका यी ढुंगा फक्रिएका फुलजस्तै सुन्दर देखिन्छन् ।
व्यवस्थापनको यो एउटा सानो नमुना मात्र हो । ललितपुर महानगरपालिकाले सिंगो नगरको सुन्दरता बढाउन विभिन्न क्षेत्रमा गरेका कार्यले धेरैको मन जितेको छ । मेयरमा लगातार दोस्रोपटक निर्वाचित मेयर चिरीबाबु महर्जन खासमा धेरै बोल्दैनन् । तर उनका काम बोल्न थालेका छन् ।
आधुनिक सहरको सौन्दर्यीकरणदेखि प्राचीन सम्पदाहरुको संरक्षणमा महानगरले उल्लेखनीय काम गरेको छ । ‘विस्तारै नगर फेरिएको महसुस भएको छ,’ मगंलबजारका विक्रम अवाल भन्छन्, नाक थुन्दै शकर घुम्नुपर्ने बाध्यताबाट अहिले पार्कका बसेर रमाइलो गर्ने अवस्थामा आएका छौं ।
महानगरको यो परिवर्तन रातारात भएको भने होइन । मेयर महर्जनले अघिल्लो कार्यकालमा रोपेका कपुरका रुखले जस्तै उनका कार्यले सुगन्ध दिन थालेका हुन् । मेयर महर्जन पनि अघिल्लो कार्यकालका कामको प्रतिफल अहिले देखिन थालेको बताउँछन् । महानगरमा गरिएको वृक्षरोपण, सरसफाइ र उज्यालोले थुप्रै परिवर्तन देखिएको उनले बताए ।
आजको नागरिक दैनिक पत्रिकामा खबर छ ।