छिमेकी मुलुकसहित अन्तर्राष्ट्रिय समुदायले पनि हाम्रो नक्साको सम्मान गरोस् : परराष्ट्रमन्त्री साउद

दियोपोस्ट संवाददाता

ओखलढुङगा ।  परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले नेपालको नक्सालाई छिमेकी देशहरुले सम्मान गर्नुपर्ने बताएका छन् । प्रेस युनियन ओखलढुंगाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साउदले कालापानी, लिपुलेख र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सालाई अन्य राष्ट्रहरुले पनि सम्मान गर्नु पर्ने बताएका हुन् ।

‘हामी आफ्नो नक्सामा प्रतिबद्ध छौं, यसलाई धेरै विवाद गरेर अघि बढ्ने भन्दा पनि सबै देशसँग कुटनीतिक संवाद र छलफल गरेर विवादको समाधान गर्न चाहन्छौं,’ उनले भने, ‘सबै छिमेकी मुलुकसमेत अन्तर्राष्ट्रिय समुदायले पनि हाम्रो नक्साको सम्मान गरोस् भन्ने हाम्रो धारणा रहिआएको छ।’

चीन सरकारले नेपालको पुरानो नक्सालाई निरन्तरता दिनु र नयाँ नक्साबारे बेखबर जस्तै हुनुमा ओली सरकारको गम्भिर लापरबाहीका कारण भएको तर्क गरेका छन् । 

अहिलेको सरकारले कुटनीतिक रुपमा चीन सरकारलाई नेपालको चुच्चे नक्साको बारेमा जानकारी दिएर सच्याउन आग्रह गरेको समेत बताए । अन्तराष्ट्रिय सम्बन्ध सुधार, आर्थिक विकास र सम्मूनत नेपाल निर्माणमा प्रचण्ड नेतृत्व सरकार प्रतिवद्ध रहेको दाबी गरे ।

‘नक्सा संसदबाट पास गरेपछि सम्बन्धित देशहरूमा गयो कि गएन भनेर मन्त्रालयमा बुझ्दा गइसकेको जानकारी पाइएन,’ उनले भने, ‘त्यसबेला जिम्मेवारीमा रहेका साथीहरूले नक्साबारे जानकारी पठाएको भने पनि त्यस्तो नोट गएकोजस्तो जानकारी प्राप्त भएन।’

चीनले हालै सार्वजनिक गरेको नक्साबारे यसअघि नै परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको पनि उनले बताए।

गत अगष्ट २८ मा चीनले नेपालको भू–भाग भारतमा देखाएको नक्सा सार्वजनिक गरेको थियो।

चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ।

साथै मन्त्री साउदले सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्।

पत्रकार सम्मेलन पछिको भवन उद्घाटन कार्यक्रममा संघीय संसद तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, कोशी प्रदेशका मन्त्री प्रदीप सुनुवार, उक्त नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले आ–आफ्नो धाराणा व्यक्त गरेका थिए ।

नगर प्रमुख खनालले नगरपालिकाको वृहत समृद्धिका लागि संघीय सरकार र प्रदेश सरकारले थप बजेटको व्यवस्था गर्नुपर्ने बताए । ‘यो ऐतिहासिक तथा सांस्कृतिक नगरपालिकाको विकासमा हातेमालो गर्न संघीय तथा प्रदेश सरकारसँग जोडदार माग गर्दछु’ खनालले भने ।

सम्बन्धित खबर