रिजालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

दियो पोस्ट  

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं–७ का क्षेत्रीय सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

स्वर्गीय रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट उहाँले गहिरो समवेदना प्रकट गरेका छन् ।

रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः३० बजे निधन भएको पार्टी कार्यालयका मुख्यसचवि कृष्णप्रसाद पौडेलले आज जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज विहान ११ बजेदेखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा र बिहान १२ः३० देखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा राखिनेछ । अपरान्ह २ः३० बजे रिजालको दाहसंस्कार गरिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

विसं २०२७ कात्तिकमा जन्मनुभएका रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । विसं २०४६ को ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा परेका थिए ।

रिजाल कांग्रेस काठमाडौँ क्षेत्र नं–७ को क्षेत्रीय सभापति र कामनपा–१६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित हुनुभएको थियो । सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी सङ्घमा आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका उहाँले मानव अधिकारवादी सङ्घ संस्थामा समेत आवद्ध भएर कार्य गर्दै आएका थिए ।

उनको निधनबाट कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको पार्टीले जनाएको छ ।