काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देवल आधारभुत विद्यालयको विद्यार्थीको दिवाखाजाको साढे पाँच लाख बजेटबाट तीन शिक्षक राखेको छ । विद्यार्थीले दिवा खाजा पाउँँदैनन् ।
विद्यालयको दिवाखाजा कटाएर निजी स्रोेतका शिक्षक चक्र मल्ल, रुप बहादुर शाही, दीपेन्द्र बमलाई राखेको हो । सरकारले प्रारम्भिका बालविकास देखि कक्षा ६ सम्मका विद्यार्थीका लागि (हुम्लासहित कर्णालीका दुर्गम पाँच जिल्लामा हरेक विद्यार्थीले २० रुपैयाँ) खाजाबाफत रकम दिन्छ । सरकारले विनियोजन गरेको रकम पालिकामार्फत विद्यालयको खातामा जान्छ ।
सर्केगाड गाउँपालिका शिक्षा शाखा प्रमुख वीरजंग शाहीका अनुसार दिवलमा कक्षा ६ सम्मका एक सय ५० बालबालिकाको दिवाखाजाका लागि दैनिक २० रुपैयाँका दरले वार्षिक पाँच लाख ५० हजार आठ सय बजेट जान्छ । दिवाखाजा बजेट वार्षिक एक सय ८० दिन मानेर निकासा हुन्छ ।
हुम्लाको सर्केगाड गाउँपालिका –१ तुम्चस्थित भूकम्पले चर्किएको विद्यालय भवन जीर्ण छ । जस्तापाताले छाएको छ । डेक्सबेन्च पनि पर्याप्त छैन । धेरै जसो विद्यार्थी ढुङ्गामा काठको फल्याक बिछ्याएर पढ्छन् । ‘चिसो भुइँमा बसेर पढ्नुपर्छ,’ कक्षा ८ मा अध्ययनरत शर्मिला रावतले भनिन्, ‘कक्षाकोठाको भित्ता पनि चर्किएका छन् । पानी परेको दिन त भित्ताबाट पानी पसेर कक्षाकोठामा ताल हुन्छ ।’ कक्षा ६ मा अध्ययनरत यामराज जैसीले भने,‘ राम्रोसँग बसेर पढ्ने कक्षाकोठा पनि छैन ।’कक्षा ८ का समराज कटुवालका अनुसार कक्षाकोठामा ढुंगा, काठको फल्याक बिछ्याएर पढ्नुपर्छ, त्यो पनि सबैले पाउँदैनन् । सर्केगाड गाउँपालिका शिक्षा शाखा प्रमुख शाहीले विद्यालय भवन मर्मत र डेक्सबेन्चका लागि गाउँपालिकाले पहल गर्ने बताए । ‘तर पालिकाले भवन निर्माण गर्न सक्ने अवस्था छैन । पालिकाभर ३२ विद्यालय छन् । संघसंस्था वा प्रदेश, संघ सरकारले अनुदान दिएपछि सम्भव हुन्छ,’ उनले भने ।
बालविकास केन्द्रमा ३४ बालबालिका छन् । शिक्षा शाखा प्रमुख शाही बालबालिकाका लागि छुट्याइएको दिवाखाजा कटाएर शिक्षक पाल्न नपाउने बताए । तर, प्रधानाध्यापक रावतले कक्षा ८ सम्म सञ्चालन गर्न शिक्षक अभाव भएपछि निजी स्रोतमा शिक्षक राखेर चलाउन दिवाखाजाको पैसा प्रयोग गरिएको बताए । ‘अभिाभावकले कक्षा ८ सम्म पढाइदिनु भन्नुभयो । तर, शिक्षक दरबन्दी ३ जना मात्र छ । निजीमा शिक्षक राख्न अन्य स्रोत नभएकाले खाजाको पैसा प्रयोग गरिएको हो,’ उनले भने ।
स्कुल खुल्छ, शिक्षक गयल
२४ भदै आइतबार सार्वजनिक बिदा थिएन । तर, सर्केगाड गाउँपालिका–१ तुम्चमा रहेका देवल आधारभूत विद्यालयमा दिउँसो १२ बजेसम्म पढाइ नै सुरु भएन । नयाँ पत्रिकाकर्मी विद्यालय हाताभित्र पुग्दा, विद्यार्थी चौरमा खेलिरहेका थिए । प्रधानाध्यापकसहित ६ जना शिक्षक रहेका यो विद्यालयमा अपह्रसम्म शिक्षक नआएपछि कार्यालय सहयोगी केवल सुनारले पालैपालो विद्यार्थीको हाजिर गरेर घर पठाइदिए । सरहरु दिउँसोसम्म आउनुभएन, हेड सरलाई फोन गरेर, सोध्दा ‘हाजिर गरेर पठाइदिनु’ भन्नुभयो,’ सुनारले भने, ‘मैले पनि हाजिर गरेर पठाइदिँए ।
आजको नयाँ पत्रिकामा खबर छ ।