काठमाडौं । गत साउन २ गते अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास समेत भएको अवस्थामा बरामद ६० किलो बढी सुन तस्करीका प्रतिवादीको आज (मंगलबार) पनि अदालती बयान हुने भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। सुन तस्करीको मुद्दामा सोमबारदेखि अदालती बयान सुरु भएको हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा सोमबार १ जना प्रतिवादीको बयान भएको थियो। मंगलबार ४ जनाको बयान लिने तयारी रहेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले २९ जनालाई प्रतिवादी बनाएर अभियोगपत्र दायर गरेको थियो। प्रतिवादी बनाइएकामध्ये २६ जनालाई अभियोगपत्रसँगै अदालतमा पेस गरिएको थियो।
१ जनाको सोमबार नै बयान भइसकेका कारण अब २५ जनाको बयान लिन बाँकी छ। मंगलबार ४ जनाको बयान सक्दा २१ जना बाँकी रहनेछन्। अदालतले २ साताभित्र सबैको बयान लिइसक्ने तयारी गरेको छ।