छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित ५ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔाधसहित ५ जना पक्राउ परेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–६ माझिटारबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ६ हजार ट्याब्लेट र डायलेक्स–डिसी लेखिएको एकसय एमएलको ७ सय ४९ बोतलसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही कोडैना गाउँपालिका–६ बस्ने २० वर्षीय सुनिल कुमार यादवसहित ३ जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले एचआर १० एस ३०५६ नम्बरको भारतीय कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित बुधबार साँझ पक्राउ गरेको हो ।

यसैगरी कपिलवस्तुको बाणगंगा नगरपालिका–३ वभनीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ३० मिलिग्राम र नगद २८ हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–९ जगदिशपुर बस्ने २६ वर्षीय घनश्याम मुराउ रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले लु.८३ प ९७६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित बुधबार साँझ पक्राउ गरेको हो ।

साथै कैलालीको टिकापुर नगरपालिका–९ स्थित सडकबाट अवैध लागूऔऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ७० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दगोरीया गाउँपालिका–२ बौनीया जगतपुर बस्ने २५ वर्षीय रबिन्द्र टमट्टा रहेका छन् । प्रहरी चौकी लाकुण्डाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित बुधबार साँझ पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर