खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

दियो पोस्ट  

दाङ । दाङमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरास्थित भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको आरोपमा एक जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३९ वर्षीय टेक बहादुर हमाल रहेका छन् ।

आफ्नै घर अगाडि उभिरहेकी रितालाई टेक बहादुरले एक्कासि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको र सोही ठाउँ बस्ने ४५ वर्षीय वीर बहादुर हमाल तथा उनकै आमा ६५ वर्षीया कमला कुमारी हमालसमेत घाइते भएका छन् । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी जसपुरबाट खटिएको प्रहरीले टेक बहादुर हमाललाई उनकै घरबाट खुकुरीसहित पक्राउ गरेको हो ।

साथै खुकुरी प्रहारबाट घाइते भएका दुवै जनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएकोमा वीर बहादुर उपचार पश्चात डिश्चार्ज भएका छन् भने कमला कुमारीको नर्सिङहोम नेपालगंजमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।