छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काभ्रेको भुम्लु गाउँपालिका–१० चौउन्न किलोस्थित सडकमा बा.प्र.०१–००३ क ९४५९ नम्बरको टिपर र बा.६९ प ५४७९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्करबाट शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मण्डन देउपुर नगरपालिका–११ बस्ने ३६ वर्षीय प्रेम कुमार वाईवा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा
लिएको छ ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका–१ स्थित सडकमा से.२ प ९८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुरा आलिताल गाउँपालका–७ बस्ने २२ वर्षीय नबिन बहादुर बोहरा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै पर्साको ठोरी गाउँपालिका–५ गुम्बालाईनस्थित सडकमा बीआर २२ जेड ०३८५ नम्बरको भारतीय मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५४ वर्षीया कान्छी तामाङ रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको एलएस न्युरो अस्पतालमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी लमजुङको बेसीशहर नगरपालिका–७ गैरीधारास्थित सडकमा ना.४७ प ६४६९ नम्बरको मोटरसाइकल सडक छेउमा पार्किङ गरी राखेको ग.१त ३८४२ नम्बरको ट्याक्टरमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–३ रानिकुवा डेरा गरी बस्ने झापा कोहबरा गाउँपालिका–१ घर भएका २५ वर्षीय मनिष श्रेष्ठ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमजुङ अस्पतालमा उपचारको क्रममा
मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै कास्कीको मादी गाउँपालिका–५ बयरघारीस्थित सडकमा ग.१ त ७०६७ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल विजयपुर खोलामा खसेर शनिबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१३ बस्ने तनहुँ घर भएका २१ वर्षीय सुजन नेपाली रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक र ट्याक्टरमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैसाथ ललितपुरको ललितपुर महानगरपालिका–९ बालकुमारीस्थित सडकमा बा.१७ प ७८८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २३ वर्षीय शैलेस बज्राचार्य रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर