सरकारले आफ्ना माग पूरा नगरे सामूहिक आत्मदाह गर्ने पूर्वमाओवादी लडाकुहरुको चेतावनी

दियो पोस्ट  

काडमाडौं । १० वर्षे जनयुद्धका घाइते पूर्वमाओवादी लडाकुहरुले सरकारले आफ्ना समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् । आइतबार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर उनीहरुले आफ्ना समस्या सरकारले सम्बोधन नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।

जनयुद्धका घाइतेको उच्चस्तरीय औषधोपचारको व्यवस्था गर्नुपर्ने, जीवन निर्वाह गर्न तत्काल स्रोतको व्यवस्था गर्नुपर्ने, पूर्वलडाकूको कार्यदलमा नाम नभएकाको तत्काल सूचीकृत गरेर समावेश गर्नुपर्ने माग गृहमन्त्रीसमक्ष राखेका हुन् ।

उनिहरुले घाइते तथा अपांगता भएका व्यक्तिका छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क व्यवस्था गर्नुपर्ने, जनयुद्धका घाइते तथा अपांगता भएका व्यक्तिको निधन भएपछि सहिद घोषणा गर्नुपर्ने र जनयुद्धका नक्कली तथा सक्कली घाइते र अपांगता भएका व्यक्तिको पहिचान गरेर आवश्यक कारबाही गर्नुपर्ने मागसमेत पेश गरे ।

पूर्वलडाकु तथा घाइतेहरुको कुरा सुनिसकेपछि गृहमन्त्री श्रेष्ठले लामो समयदेखि विभिन्न दलसँगको समीकरणको सरकार बनाएका कारण पूर्वलडाकु तथा घाइतेका समस्या समाधान गर्न नसकिएको स्वीकार गरेका छन् ।

आफ्नो पार्टी नेतृत्वको सरकारमा भएका बेला पूर्वलडाकु तथा घाइते र अपांगता भएका व्यक्तिको पक्षमा निर्णय गर्दा अदालतले रोक लगाएका कारण सम्बोधनमा समस्या भइरहेको उनले बताए ।

गृहमन्त्री श्रेष्ठले अहिले प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमणमा रहेको र फर्किनेबित्तिकै गम्भीर रुपमा छलफल गरेर समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।