
काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ तिनथानास्थित सडकमा बा.५ ख २१९२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं नैकाप बस्ने गोरखा घर भएका ३२ वर्षीय अमन गुरुङ रहेका छन् । ठक्कबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर हुँदै थप उपचारको लागि ग्रिनसिटी अस्पतालतर्फ लैजाने क्रममा आइतबार राति बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी पर्साको ठोरी गाउँपालिका–३ ब्रहमानगरस्थित सडकमा प्र.२–०३–००१ त ३९८१ नम्बरको ट्याक्टरको टेलरमा बीआर ०५ एक्यु ६६७६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिराभवानी गाउँपालिका–४ बस्ने २० वर्षीय जयकुमार रौनियार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार हुनुको साथै ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।