ब्रान्डकै आवरणमा राजस्व छली गर्ने रुट्स फेसनविरुद्ध मुद्दा, ४ करोड बढीको विगो माग दाबी

दियो पोस्ट  

काठमाडौं । राजस्व अनुसन्धान विभागले एडीडाज ब्रान्डका सामान आयातकर्ता रुट्स फेसन प्रा.लि.विरुद्ध राजस्व छली गरेको आरोपमा मुद्दा दायर गरेको छ । आइतबार (हिजो) विभागले ४ करोड ३७ लाख माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

रुट्स फेसनले आयात गरेर वीरगन्ज भन्सारबाट भित्र्याएको जुत्ता, तयारी पोसाक लगायतका सामानको राजस्व छली गरेको विभागको आरोप छ । मुद्दामा राजस्व चुहावट तथा नियन्त्रण ऐन २०५२ अनुसार रुट्सका सञ्चालकहरू सञ्जीव तुलाधर, देवेन्द्रप्रसाद श्रेष्ठ, सुनिल महर्जन र प्रकाश रत्न कंशाकारसमेतलाई विपक्षी बनाइएको छ ।

यसअघि पनि ब्रान्डकै आवरणमा थोरै राजश्व तिरेर बढी सामान आयात हुँदै आएको खुलेको छ ।

विभागका सूचना अधिकारी तथा अनुसन्धान अधिकृत नवराज अधिकारीका अनुसार सामान आयात गर्दा सरकारलाई नियमअनुसार भन्सार महसुल, मूल्य अभिवृद्धि कर(भ्याट) नबुझाएकोले आयातित सामानको बिगो २ करोड १८ लाख ५२ हजार ७ सय ७० कायम गरी सोही रकमको शतप्रतिशत जरिवानासमेत ४ करोड ३७ लाखको माग दाबीसहित विभागले मुद्दा दायर गरेको हो ।

विभागले आयतकर्तालाई जेल सजायको समेत माग मुद्दाको आरोपपत्रमा गरेको छ ।

सिफारिस