बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, भारतीय नागरिक पक्राउ

दियो पोस्ट  

बारा । धारिलो हतियार प्रहारबाट हत्या गरेर फालिएको अवस्थामा दशगजा क्षेत्र नजिकै एक जनाको शव सोमबार भेटिएको छ । भेटिएको शव पचरौता नगरपालिका-१ पिपरपातीका ३३ वर्षीय अमरेश कुमार सिंहको रहेको बारा प्रहरीले जनाएको छ ।

बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले शव भेटिएका अमरेश कुमारको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेर घाइते बनाएको निशान देखिएको बताए ।

सिंहले सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी जवानमा पाँच वर्ष जागिर गरी छोडेका थिए सशस्त्रको जागिर छोडे पछि उनले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल समेत सञ्चालन गरेका थिए ।

सिंहले रक्सी पसललाई छोडेर अहिले गाउँमै बसेर खेतीपाती गर्दै आएको र हत्या गरिनुको कारणको बारेमा प्रहरीले अनुसन्धान गरी रहेको उपरीक्षक काफ्लेले बताए ।

सिंहको हत्याको अनुसन्धानको सिलसिलामा भारतीय नागरिक राहुल साह र सामलाल महतो गरी दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दाडीराम न्यौपानेले बताए ।

सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपाल तर्फ रक्सी पसल सन्चालन गर्दै आएको र केही दिन पहिला सिंहसँग झगडा समेत भएको अनुसन्धानबाट खुलेको बारा प्रहरीले जनाएको छ ।

सिफारिस