टर्की पठाइदिन्छु भन्दै करोडौं रकम ठगी गर्ने महिला पक्राउ

दियो पोस्ट  

काठमाडौँ । वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै करोडौँको ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा पोखराको लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरुची भुजेल रहेकी छिन् ।

भुजेलले पोखराका ४२ वर्षीय विनोद श्रेष्ठको संलग्नतामा सिर्जन कुमार राईसहित ३० जनालाई टर्की पठाइदिन्छु भन्दै ठगी गरेका थिए । भूकम्पपछि पुनर्निर्माणका लागि यूएनले सहयोग गर्ने उद्देश्यले मासिक १४ सय अमेरिकी डलर तलब दिने प्रलोभनमा पारी पीडितबाट १ करोड १५ लाख ९९ हजार ८ सय रुपैयाँ ठगी गरेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

वैदेशिक रोजगार विभागले पठाएको पत्रका आधारमा आवश्यक कारबाहीका लागि सीआईबीको टोलीले भुजेललाई आसोज ६ गते पोखराबाट पक्राउ गरेको हो ।

काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।