बारामा गोली प्रहार गरी एक भारतीय युवकको हत्या

दियो पोस्ट  

बारा । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा एक जना भारतीय युवकको गोली हानी हत्या भएको छ । भारतको मोतिहारी जिल्ला, दर्पा थाना १ सुक्लहिया गाउँस्थित घर भएका २२ वर्षीय अजित कुमार सिंहको मंगलबार साँझ करिब ६ बजे गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको हो ।

प्रहरीका अनुसार सिंहसँगै सोही ठाउँ बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहानी र २० वर्षीय कामेश्वर सहानी दुईवटा अन टेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए ।

लक्ष्मिनियामा रहेको पोखरी नजिक पुगेपछि एउटै बाइक पछाडि बसेका सुजित कुमार सिंहले अजित कुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरी अरू मोटरसाइकलमा भारततर्फ भागेको प्रहरीले जानकारी दिए ।

घट्नास्थलबाट एक थान गोलि र एक थान गोलिको खोका बरामद भएको बाराका प्रहरी प्रवक्ता डिएसपी ददिराम न्यौपानेले जनाकारी दिए ।

मृतक अजितको शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।