विद्यालय भवनमा ताला, चौरमा विद्यार्थी

दियो पोस्ट  

काठमाडौं । बैतडीमा विद्यालय भवनमा एक वर्षअघि लागेको ताला खुल्न सकेको छैन । जिल्ला पञ्चेश्वर गाउँपालिका–१ स्थित गडदेव आधारभुत विद्यालयको चारकोठे नयाँ भवनमा लागेको ताला नखुल्दा विद्यार्थीहरु खुला चौरमा बस्न बाध्य छन् । विद्यालयका प्रधानाध्यापक निराजन जोशीले पुरानो भवन पहिरोले बगाएको । नयाँ भवनमा ताला लागेकाले विद्यार्थीहरुलाई खुला ठाउँमा पढाउनुपर्ने बाध्यता रहेको बताए ।

उनले पानी परेका तथा गर्मी बढेको बेलामा बिदा गरेर विद्यार्थीहरुलाई घर पठाउनुपरेको जानकारी दिए । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा एक सय बढी विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालय भवन भएर पनि प्रयोग गर्न नपाउँदा बालबालिकाहरुलाई पठनपाठनमा निकै असहज भएको छ । खुला चौरमा पढाउनुपर्ने बाध्यता छ ।

विद्यालयको नयाँ भवनमा बालबालिकाहरु बस्न नपाएपछि घाम र वर्षात्को समस्या रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिक्मतसिंह घटालले बताए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्गर्त आर्थिक वर्ष २०७८–०७९ मा चारकोठे भवन निमार्णका लागि ३६ लाख बजेट विनियोजन भएको थियो । तत्कालीन विद्यालय व्यवस्थापन समितिले भवन निमार्ण समिति गठन गरी काम सम्पन्न गरेको एक वर्ष भइसक्दासमेत भवन प्रयोग गर्न पाएको छैन ।

६९ लाख १६ हजार ७३ रुपैयाँ खर्च भएको भवन निर्माणको जिम्मा पाएका केशव सिंह घटालको दाबी छ । जसमध्ये २८ लाख सात हजार २२ रुपैयाँ पाउन बाँकी रहको घटालले बताए । ‘विद्यालयको खेलमै दान र भवन निर्माणमा सो रकम खर्च भएको हो,’ उनले भने, ‘जनप्रतिनिधिले रकम थप्ने भनेपछि मात्रै काम अघि बढाएको हुँ ।’ पालिकाबाट बाँकी रकम भुत्तानी हुनुपर्ने माग राख्ने विद्यालय भवनमा ताला लगाएको घटालले बताए । यता गाउँपालिकाले भने सम्झौताअनुसारको रकम भुक्तानी भइसकेको जनाएको छ ।

प्राविधिक रिर्पोटअनुसारको, सम्झौताअनुसारको ३६ लाख र वडा कार्यालयबाट थप ६ लाख भुक्तानी भइसकेको गाउँपालिका उपाध्क्षय विना भट्टले जानकारी दिए । विद्यालयको नयाँ भवनमा लगाएको ताला केही महिना पहिला खुलेको र फेरि ताला लगाएको भन्ने कुरा सुनेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । विद्यालय भवनको ताला खोल्नका लागि अब कानुनी बाटो अपनाइने उनको भनाई छ ।

आजको हिमालय टाइम्समा खबर छ ।