लिफ्टबाट घर घरमा पानी

दियो पोस्ट  

काठमाडौं । सिन्धुलीको गालन्जोर गाउँपालिका–४ तीनकन्या कुभिन्डेका बासिन्दा विद्युतीय लिफ्बाट घर–घरमा खानेपानीको सुविधा पाउँदा दङ्ग परेका छन् ।

लामो समयदेखि खानेपानीका लागि समस्या झेल्दै आएका तीनकन्या कुभिन्डेका बासिन्दा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) नामक संस्थाले लिफ्टबाट खानेपानीको सुविधा उपलब्ध गराएपछि खुसी भएका हुन् । एक वर्षअघि निर्माण सुरु गरिएको उक्त खानेपानी योजना निमार्ण सम्पन्न भएपछि उपभोक्तालाई घर घरमा खानेपानी सुविधा पुगेको छ ।

कुभिन्डे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अनुसार खानेपानी योजना गोलन्जोर गाउँपालिकाको समपूरक कोषबाट ३२ लाख २१ हजार ६७९, नेवाको ७२ लाख १९ हजार २४८ रुपियाँ लगानी गरिएको छ । समुदायको २२ लाख आठ हजार ७२२ रुपियाँ बराबरको जनश्रमदान गरी एक करोड २६ लाख ४९ हजार ६४९ रुपैयाँको लागतमा खानेपानी योजना निर्माण गरिएको हो । उक्त योजनाबाट ७६ वटा धारा जडान गरी उपभोक्तालाई खानेपानी वितरण गरिएको छ । समितिका अध्यक्ष लीलाबहादुर आलेले अहिले १३२ घरधुरीले चौबिसै घण्टा खानेपानीको सुविधा पाएको जानकारी दिए । लिफ्टबाट सञ्चालित खानेपानी योजना भएकाले विद्युत् महसुल धेरै उठ्ने हुँदा सहुलियतामा विद्युत् उपलब्ध हुनुपर्ने उनको भनाइ छ ।

झन्डै पाँच सय मिटर गहिरोमा रहेको खोलाबाट तीन वटा लिफ्ट मेसिनमार्फत डाँडामा पानी फ्याँकेर उपभोक्तालाई खानेपानीको व्यवस्था गरेको नेवाःका कार्यक्रम अधिकृत नवीन घिमिरे जानकारी दिए । गत आर्थिक वर्षमा कमलामाईका वडां नं. १, ३, ५ र १० र दुधौलीको वडा नं. ८, हरिहरपुरढी गाउँपालिका–६, ७ र ८, मरिण गाउँपालिका–६, गोलन्जोर गाउँपालिका–४ र सुनकोशी गाउँपालिका–३ र ४ मा गरी जम्मा २२ वटा खानेपानी तथा सरसफाइका आयोजनाको काम सम्पन्न गरेको नेवाले जनाएको छ । निर्माण भएका आयोजनामा ग्राभिटी फ्लो, सोलार लिफ्ट तथा सरसफाइ कार्यक्रम सञ्चालन गरी उपभोक्तालाई हस्तान्तरण गरिने बताएको छ ।

आजको गारखापत्र पत्रिकामा खबर छ ।

सिफारिस