छुट्टाछुट्टै ठाउँबाट जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । बर्दियामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छन् । पक्राउ पर्नेमा जिल्लाको गेरूवा गाउँपालिका–५ गोला घर भएका बढैयाताल गाउँपालिका–९ श्रीलंका टोल बस्ने ५२ वर्षीय कृष्ण कुमार दमाई रहेका छन् । दमाईले ती बालिकालाई विभिन्न समयमा पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी सितलाबजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी मोरङमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २ जना जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ जहदा बस्ने २० वर्षीय दिपेन्द्र कुमार मण्डलसहित २ जना रहेका छन् । मण्डल लगायत ६ जनाले ती किशोरीलाई जहदा जयरामपुर धान खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार रहेका अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।