काठमाडौंमा अवैध सुन र हुण्डी कारोबारी धमाधम पक्राउ

दियो पोस्ट  

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले हुण्डी, अवैध सुन लगायत विभिन्न अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । कालिमाटी लगायत क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले पंकज पुजारीलाई हुण्डी तथा अवैध सुन कारोबारमा पक्राउ गरेको छ । किराना पसलको आवरणमा उनले यो धन्दा गरिरहेको स्रोतले बताएको छ । त्यस्तै अुण्डी र सुन कारोबारमा रञ्जित गुप्तालाई पनि प्रहरीले पक्राउ गरेको छ । अर्का मुकेश गुप्ता, विकास पुजारी र रामसुन्दर गुप्तालाई पनि कालिमाटीस्थित खुसीमार्गबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुले खुसीमार्गस्थित बानियाँ थरका व्यक्तिको घरमा बसेर अवैध धन्दा गरिरहेको स्रोतको भनाई छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले भने २ जनालाई मात्रै पक्राउ गरिएको जानकारी गराए । उनका अनुसार पक्राउ परेका २ जना हुण्डी कारोबारमा संलग्न थिए । यद्धपी दियोपोस्टलाई नाम नबताउने स्रोतले भने ५ जनालाई पक्राउ गरेको दाबी गरेको छ ।