सुजनको ह्याट्रिकमा नेपालको पहिलो जीत, श्रीलंकाको लगातार दोस्रो हार

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपालले श्रीलंका विरुद्धको साफ यु–१७ च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ।नेपालले ४–० को जित निकाल्दा सुजन डंगोलले ह्याट्रिक पूरा गरेका छन् ।

यो जितपछि नेपालले सेमिफाइनलको सम्भावनालाई कायम राखेको छ । भुटानको चाङलिमिथाङ रङ्गशालामा आज भएको खेलको १३ औं मिनेटभित्रै नेपालले २–० को अग्रता बनाएको थियो। नवौं मिनेटमा सुजनको गोलमा नेपालले सुरुवाती अग्रता लिएको थियो।

त्यसपछि १३औं मिनेटमा सुबास बमको सहयोगमा सुजनले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए। सुजनले ३०औं मिनेटमा ह्याट्रिक पुरा गर्दा नेपालले पहिलो हाफमै फराकिलो अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि दबाब बनाएको नेपालले ८३औं मिनेटमा विज्ञान खड्काको गोलमा ४–० को अग्रता बनायो।

जितसँगै नेपालले महत्वपुर्ण तीन अंक हासिल गरेको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० ले हारेको थियो। श्रीलंकाको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा श्रीलंका भुटानसँग ५–१ ले पराजित भएको थियो।

सम्बन्धित खबर