डार्क फाइल प्रकरण : सिधा कुरा डटकमका सम्पादक र प्रकाशकसहित ३ जनालाई कैद फसला

दियोपोस्ट संवाददाता  

सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगाना अन्तत जेल जाने भएका छन् । सीधाकुरा डटकमको ‘डार्क फायल’ले सार्वजनिक गरेको एउटा अडियो सामग्रीलाई अदालतले नै फेक ठहर गरिदिएको छ । योसँगै अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले सीधा कुरा डटकमका प्रकाशक कँडेल र कार्यकारी सम्पादक ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको हो ।

आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत पूर्ण इजलासले उनीहरुलाई ३–३ महिनाको कैद सजाय सुनाएको हो ।

सीधा कुरा डटकमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश र केही आमसञ्चार माध्यम सञ्चालकले लेनदेन गरेको दाबी गर्दै एक समाचार र भिडियो सामग्री प्रकाशन गरेको थियो ।

सीधा कुरा डटकमले राजकुमार तिमल्सिनाले दिएको एक अडियो कुराकानीका आधारमा समाचार प्रकाशन तथा प्रशारण गरेको थियो । सर्वोच्चले तमल्सिनालाई भने ६ महिना कैद गर्न आदेश दिएको छ । त्यस्तै सीधा कुरा डटकमलाई पनि ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ । सुरुमा संयुक्त इजलासले हेरेको यो मुद्दा पछि बृहत पूर्ण इजलासमा पठाइएको थियो । बृहत पूर्ण इजलासले चार पटक निर्णय सुनाउने मिति सारेर आइतबार फैसला सुनाएको हो ।

समाचार लेखेर वा प्रकाशित गरेर अदालतको अवहेलना गरेको भन्ने मुद्दामा सर्वोच्च अदालतले गरेको यो सबैभन्दा ठूलो कैद सजाय हो । यसअघि सर्वोच्च अदालत र प्रधानन्यायाधीशको कार्टुन बनाएको आरोपमा पत्रकार हरिहर विरहीले ७ दिन कैद सजाय भोगेका थिए ।

डार्क फाइल प्रकरण : सिधा कुरा डटकमका सम्पादक र प्रकाशकसहित ३ जनालाई कैद फसला

सिफारिस