काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले जीवन चलाउनेलाई फरार सुचीमा राखेर मुद्दा दर्ता गरेको थियो । तर, मुद्दा दर्ता हुनुअघि सिआइबीमा आफै उपस्थित भएर बयान दिएका चलाउने कसरी फरार भए भन्दै प्रश्न उठ्यो । चलाउनेलाई भगाएकै अभियोगमा सिआइबीकी तत्कालिन प्रमुख एआइजी किरण बज्राचार्यलाई कारबाही सिफारिस समेत गरियो । सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको सिफारिसको आधारमा बज्राचार्यलाई कारबाही सिफारिस गरि उनलाई प्रहरी प्रधान कार्यालय तानियो । तर, सिआइबीमा फेरी यस्तै प्रकृतिको एउटा घटना हुँदा सबै निकाय गुपचुप छन् ।
सिआइबी प्रमुखमा हाल एआइजी श्यामलाल ज्ञवाली छन् । उनलाई गृहमन्त्री रवी लामिछानेले मन पराएर सिआइबी प्रमुख बन्न सफल ज्ञवालीले गृहमन्त्री लामिछानेलाई रिझाउनकै लागि –द डार्क फाइल नामले चर्चित एउटा काण्डमा पक्राउ गरेर हिरासतमा राख्नुपर्ने अभियुक्तलाई बयान लिएर छाडिदिएका छन् । प्रसंग हो – द डार्क फाइल’ को ।
एक अनलाइनको युट्युव च्यानलबाट प्रशारित कार्यक्रम ‘द डार्क फाइल’ भन्दै नक्कली अडियो प्रशारण गरेको सिआइबीकै ठहर छ । तर, नक्कली अडियो बनाउने र संचार माध्यमसम्म पुर्याउने राजकुमार तिमिल्सिनालाई भने बयान लिएर छाडिएको तथ्य भेटिएको छ । सामान्य नागरिकलाई अभद्र व्यवहार नामको नक्कली मुद्दा चलाएर २४ दिनसम्म हिरासतमा राख्ने प्रहरीले तिमिल्सिनालाई भने बयान लिएर फरार अभियुक्त बनाएको पाइएको हो ।

असार १३ गते सरकारी वकिल कार्यालयले सिधा कुरा नामक अनलाइनका प्रकाशक युवरा कँडेल, सम्पादक नविन ढुंगाना र नक्कली अडियो उत्पादन गरेको अभियोगमा आफूलाई प्याज व्यापारी समेत बताउने राजकुमार तिमिल्सिता विरुद्ध साइबर अपराधमा जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको छ । अभियोग पत्रमा तिमिल्सिनाको नाम पहिलो नम्बरमा छ । तर, उनी फरार अभियुक्त छन् । फरार अभियुक्त भनेपछि उनलाई प्रहरीले नभेट्याएको पत्र पनि राख्नुपर्ने हुन्छ । तर, त्यस्तो छैन । उनले सिआइबीलाई बयान दिएका छन्, एक पटक होइन दुई पटक । उनी पक्राउ परेका छैनन् । उनलाई फरार राखेर बयान लिइएको छ ।
फरार भनिएका राजकुमारले सिआइबीलाई दिएको बयान नै विवादास्पद छ । उनले अन्नपूर्ण पोस्टको कतियौँ तलामा मिटिङ भएको समेत यकिन भन्न सकेका छैनन् । त्यस्तै अडियो कुन मितिमा कहिले रकेर्ड गरेको भन्ने पनि दोहोरो जवाफ दिएका छन् । अडियो रेकर्ड भएको विषयमा उनले भनेको मिति र ल्याब परिक्षणको मिति फरक छ । अन्नपूर्णमा जाने किशोर विष्टको सहयोगी किशोर विष्ट नै को हुन् खुलेको छैन । तर, यही अडियोलाई आधार मानेर प्रशारित समाचारले हंगामा मात्रै भएन सर्वोच्चको संवैधानिक इजलाशमा यो मुद्दाको सुनुवाई हुँदैछ । सर्वोच्च अदालतको आदेशकै आधारमा सिआइबीले छानबीन थालेको थियो ।
कान्तिपुरका साहु र अन्नपूर्ण पोस्टका साहुले दिए बयान तर, भेटिएनन् सिधा कुराका साहु !
त्यस्तै सिआइबीमा कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहियाले बयान दिएका छन् । उनले आफू अन्नपूर्ण टावरमा अहिलेसम्म नगएको र अडियो नक्कली भएको बयान दिएका छन् । अन्नपूर्ण पोस्टका मालिक रामेश्वर थापाले पनि सोही प्रकृतिको बयान दिएका छन् । उनले पनि अडियो कपोकल्पीत र भ्रामक रहेको बयान दिएका छन् । त्यस्तै बरिष्ठ अधिवक्ता हरि उप्रेति र किशोर कुमार विष्टले पनि अडियो नक्कली रहेको र आफूहरु त्यस्तो कार्यमा संलग्न नरहेको बयान दिएका छन् । सिआइबीमा सिआइबीकै पूर्व एसपी संजय सिंह थापाले पनि बयान दिएका छन् । अडियो रकेर्डकर्ता राजकुमार तिमिल्सिनाले रेकर्डपश्चात अन्नपूर्ण टावरबाट झर्दै गर्दा अडियोबारे तत्कालिन अख्तियारका एसपी संजयसिंह थापालाई फोन गरेको बयान दिएपछि थापालाई पनि सिआइबीले सोधपुछ गरेको हो । उनले आफूलाई त्यतिबेला फोन नआएको र अडियोबारे आफूलाई लिखित उजुरी कहिले पनि नआएको बताएका छन् । सिआइबीले सिधा कुराका प्रकाशक कँडेल र सम्पादक ढुंगानालाई भने बयानसम्म लिन सकेको छैन । त्यसैले फरार सुचीमा राखेर मद्दा दर्ता गरेको छ । कँडेल यसअघि हाल गृहमन्त्री रहेका रवी लामिछाने न्युज २४ टेलिभिजनमा सिधा कुरा कार्यक्रम चलाउँदादेखिका सहयात्री हुन् ।
ल्याबबाट यसरी भयो अडियो नक्कली भएको पुष्टि
सिआइबीले ‘द डार्क फाइल’ नाम दिएको अडियो नक्कली रहेको पुष्टि गरेको छ । अडियोको फाइल नेम र रेकर्डकर्ता राजकुमारले दिएको बयान समेत बाँझीएको छ । अडियोको फाइल नेम सन् २०२१ मार्च १२ लेखिए अनुसार अडियो रकेर्ड मिति पनि सोहुी हुनसक्ने भएपनि सिआइबीमा बयानका क्रममा तिमिल्सिनाले २०७७ चैत्र ३० गते साँझ– ५ बजेदेखि ६ बजेसम्म रेकर्ड गरिएको बताएका छन् । अडियो नेमको आधारमा नेपाली मिति रुपान्तरण गर्दा २०७७ फागुन १९ गते हुन आउने सिआइबीको प्रतिवेदनमा उल्लेख छ ।
तिमिल्सिनाले २०७७ चैत्र ३० गते अडियो रकेर्ड गरेको र २ दिनपछि झापाको विर्तामोडस्थित मोबाइल फोन पसलमा गई कम्प्युटरबाट आफ्नो नीजि फोनमा ट्रान्सफर गरेको बयान दिएका छन् । तर, सिआइबीले तिमिल्सिनाको फोटा लिएर झापाको विर्तामोडको पसलहरुमा पुगेको र कसैले पनि उनलाई नचिनेको प्रतिवेदनमा लेखेको छ ।

सिआइबीले उनको फोन प्राविधिक परिक्षण गर्दा भने अर्को तथ्य पनि भेटेको छ । जसमा २०२४ अप्रिल १७ मा फोनमा उक्त अडियो डाउनलोड भएको देखिन्छ । जसलाई नेपाली रुपान्तरण गर्दा २०८१ वैशाख ५ गते हुन आउँछ । तिमिल्सिनाले २०८१ वैशाख ५ गते विहान ६ बजेर १३ मिनेटमा उक्त अडियो रेकर्ड गराएको पाइएको छ । फोरेन्सिक ल्याबमा परिक्षण गर्दा उक्त अडियो २०८१ वैशाख ५ गते बेलुका सात बजेर १४ मिनेट जाँदा मोडिफाइड गरेको पाइएको छ । सोही अडियोलाई तिमिल्सिनाको इमेलबाट युवराज कँडेलको इमेलमा बेलुका ८ बजेर २५ मिनेटमा पठाइएको सिआइबीले प्रतिवेदनमा उल्लेख गरेको छ ।
मागियो १ लाखदेखि ५ वर्षसम्म कैद सजाय !
सरकारी वकिल कार्यालयले विद्युतिय (इलोक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार एक लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद सजाय माग गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ अनुसार अमानवीय व्यवहार गरेको भन्दै थप ५ वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना पनि माग गरेको छ ।