चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता, लिपुलेक मुद्दामा चीन मौन रहेको प्रतिक्रिया

दियोपोस्ट संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा भदौ १४ गते चीन प्रस्थान गरेका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता र बहुपक्षीय सम्मेलनहरूमा सहभागिता जनाएर स्वदेश फर्केका हुन् ।

साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री ओली चीन गएका थिए ।

प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ उच्च अधिकारीहरू, नेपालका लागि चीनका राजदूत र चीनका लागि नेपाली राजदूतलगायतले बिदाइ गरे । उनी आज बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक परेड कार्यक्रममा समेत सहभागी भएका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चीनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनलगायत विश्वका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद छविलाल विश्वकर्मालगायत उच्चस्तरीय सरकारी अधिकारीहरू रहेका छन् ।

ओलीले तियान्जिनमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनलाई सम्बोधन गर्दै नेपालको शान्तिप्रिय छवि र अन्तर्राष्ट्रिय साझेदारीमा सक्रिय भूमिकाबारे प्रकाश पारे। त्यस क्रममा उनले नेपालको भौगोलिक अवस्थाले क्षेत्रीय तथा विश्व शान्ति र सहकार्यमा योगदान गर्न सक्ने धारणा राखे।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र उपराष्ट्रपति हान झेङसँग छुट्टाछुट्टै भेटवार्ता गरे। भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक सहयोग विस्तार गर्ने र पूर्वाधार विकासमा साझेदारी गर्ने विषयमा छलफल भएको बताइएको छ।

तर, यसपटकको भ्रमणमा प्रधानमन्त्री ओलीले लिपुलेक र लिम्पियाधुरासम्बन्धी नेपालको अडान प्रष्ट रूपमा उठाए पनि चीनले कुनै ठोस प्रतिक्रिया नदिएको प्रतिकृया दिएका छन् ।

प्रधानमन्त्री ओलीले भारत–चीनबीच लिपुलेक मार्ग प्रयोगबारे भएको समझदारीप्रति असन्तुष्टि जनाउँदै यो नेपालको सार्वभौमिकतामाथि धक्का भएको उल्लेख गरेका थिए।

भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले काठमाडौं विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै चीनसँगको सम्बन्धमा नयाँ आयाम थपिएको तर संवेदनशील मुद्दाहरूमा नेपालको अडान कायम रहेका बताए ।