हिरासतमा धादिङका जनप्रतिनिधिको बयान : ‘तँ सार्की, चमारे, मरेको सिनो खाने दलित जात’ भनेर विभेद गरेँ’

दियोपोस्ट संवाददाता  

धादिङ । जातिय भेदभाव तथा छुवाछुत गरेको अभियोगमा पक्राउ परेका निलकण्ठ नगरपालिकाका जनप्रतिनिधि हिम प्रसाद पाठकले अभियोग स्विकार गरेका छन् । गत भदौ ४ गते पक्राउ परेका पाठकलाई जिल्ला प्रहरी कार्यालय धादिङले १५ दिन हिरासतमा राखेर सरकारी वकिल कार्यालय पेश गरेको थियो । सरकारी वकिल कार्यालयले उनी विरुद्धको अभियोग पत्र जिल्ला अदालतमा दर्ता गरेको छ । तर, आज थुनछेक आदेश भने भएको छैन ।

प्रहरी हिरासतमा रहेका पाठकले ‘जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन-२०६८’ आकर्षित हुने गरि आरोप स्विकार गरेका छन् । अभियोग पत्रमा उनले दिएको बयान अनुसार पाठकले पीडित निलकण्ठ १० का राम बहादुर विसुन्केलाई ‘तँ सार्की, चमारे, मरेको सिनो खाने दलित जात मसँग मुखमुखै लाग्छस्’ भन्दै गाली गरेको स्विकार गरेका छन् ।


गत साउन १९ गते आफुले ‘जातिय भेदभाव तथा कसुर र सजाय ऐन-२०६८’ विपरित गाली गलौज गरेको उनको स्विकार छ । धादिङको निलकण्ठ नगरपालिका १० का निर्वाचित वडासदस्य समेत रहेका पाठकलाई सरकारी वकिल कार्यालयले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को दफा ३ उपदफा १२ अनुसार कसुर गरेको अभियोग लगाएको छ ।

त्यस्तै, उक्त ऐनको दफा ४ को उपदफा (८,९,१०,११,१२ वा १३) अनुसारको सजाय माग गरिएको छ । जसअनुसार कसुर गर्ने व्यक्तिलाई २ महिनादेखि २ वर्षसम्म कैद वा बीस हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । त्यस्तै उपदफा २ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्ति समेत भएकाले उनलाई थप ५० प्रतिशत सजाय समेत माग भएको छ । दफा ९ अनुसार कसुरदारबाट २ लाख रुपैयाँ क्षतिपूर्ती भराउन समेत अभियोग पत्रमा माग गरिएको छ ।

सिफारिस