काठमाडौँ, भदौ १४ । योजनावद्ध रुपमा एटिएमको ह्याक गरि ठुलो रकम कुम्ल्याएर स्वदेश फर्कने नियतमा नेपाल आएका ५ जना चिनियाँ नागरिकहरु शनिबार राति पक्राउ परे । मध्यरातमा दरबारमार्गस्थित नबिल बैँकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गरेको अवस्थामा चि ल्याङवाङ पक्राउ परे ।
चिलाई नियन्त्रणमा लिएर खानतलास गर्दै गर्दा उनको साथबाट २० वटा नक्कली एटिएम कार्ड भेटियो । प्रहरीले उनको साथबाट चाबि बरामद गर्यो, सो चाबि उनि बस्ने होटल रुमको थियो । उनिसहित अन्य चार जना हात्तिसार स्थित माया मनोहर बुटिकमा बसेका थिए ।
उनिहरुले प्रयोग गरेको होटलको कोठा नम्बर २ सय १, ६ सय २ र ६ सय ४ मा प्रहरीको टोलीले खोजतलास गर्यो । प्रहरी होटल पुगेको थाहा पाउनासाथ चि का अन्य ४ जना साथिहरु लिफ्ट चढे र भाग्न खोज्दै गर्दा प्रहरीको नियन्त्रणमा परे । पक्राउ परेका ५ जनालाई महानगरिय प्रहरी परिसर टेकु पुर्याइ अनुसन्धान गरिएको थियो ।
शनिबार राति पक्राउ परेका उनिहरुलाई महानगरिय प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गदैै आइतबार दिउँसो सार्वजनिक गरेको छ । पक्राउ पर्ने थप चार जनामा लो च्याल, चु ल्याङया, छिल यूनछिङ, छन पिङपिलाई रहेका छन् ।
घटनाबारे जानकारी दिँदै महानगरिय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदीले ह्याकरहरुले १७ वटा सक्कली र १ सय ३२ थान नक्कली भिषा कार्ड प्रयोग गरेको बताएका छन् । पत्रकार सम्मेलनमा उनिहरुबाट बरामद भएको रकम समेत सार्वजनिक गरिएको छ । अभियुक्तकाे साथबाट १ करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ, ९ हजार पाँच सय अमेरीकी डलर, ११ सय ९१ चिनियाँ युआन, २ सय ५० युरो, ५ हजार क्याम्वोडियन डलर र ८० हङकङ डलर बरामद गरिएको परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
शुक्रबार मात्र नेपाल आएका थिए ह्याकरको समुह
करोडौँ पैसा लुट्ने मनसायले नेपाल आएका सो समुह शुक्रबार मात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका थिए । प्रहरीका अनुसार पाँच जना बाहेक अरु पनि यस कार्यमा संलग्न हुनसक्ने भएकाले विमानस्थलसंग् थप विवरण मागि अनुसन्धान भइरहेको छ । शनिबार बैँकको पैसा लुट्ने र आइतबार चिन पठाउने बन्दोबस्त गर्दै सोमबार चिन फर्किने उनिहरुको योजना रहेको थियो ।
विदाको दिनको उपयोग
मुख्य कार्यलय बाहेक अन्य शाखा कार्यलयहरु शनिबार बन्द हुने कारण पनि ह्याकरहरुले शनिबारलाई नै उपयोग गरेका थिए । उनिहरुले कार्ड प्रिन्टर मेसिन र ल्यापटपको माध्यमबाट भीषा कार्ड ह्याक गरि एटिएम बुथबाट पैसा निकाल्ने गरेको डिएसपी बोगटीले बताए । विदाको दिन थप सुरक्षित हुने देखिएपछि हिजो राती नै उनिहरु आफ्नो काम सकाउने योजनामा रहेका प्रहरीले जनाएको छ ।
ग्राहकलाई समस्या
एटिएम ह्याक भएपछि राजधानीका सबै बैँकहरुले एटिएम बन्द गरेका छन् । जसको कारण सर्वसाधारण मर्कामा परेका छन् । एनआइसी एसिया बैँक, प्रभु बैँक , बैंक अफ काठमाण्डू, प्राइम, नेपाल बंगलादेश र ग्लोबल आईएमई बैंक , देवः विकास, ज्योति विकास, ओम डेभेलपमेण्ट, शाइनरेसुङ्गा, सांग्रिला डेभेलपमेण्ट, एक्सेल डेभेलपमेण्ट र लुम्बिनी विकास बैंक लगायतका बैँकहरुको एटिएम बन्द भएका छन् । राष्ट्र बैँकका अनुसार एक बैँकको भिषा कार्ड प्रयोग गरि अर्को बैँकबाट पैसा निकाल्न नमिल्ने बताएको छ ।
एटिएम ह्याकपछि आफ्नो निक्षेप खतरामा पर्नसक्ने भन्दै ग्राहकहरु चिन्तित भएका छन् । ह्याकरहरुले एटिएस सिस्टम मात्र ह्याक गरेको कारण बैँकमा जम्मा भएका निक्षेप सुरक्षित रहेका राष्ट्र बैँकले जनाएको छ । बैँकको सफ्टवेयर ह्याक हुँदामात्र निक्षेपकर्ताले जम्मा गरेको रकममाथि खतरा हुने राष्ट्रबैँकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताएका छन् ।