सर्लाही, भदौ १६ । सर्लाहीका श्यामकृष्ण साह कलवार परदेशी पक्राउ परेका छन् । ऋण दिएर स्थानीयलाई ठगेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
ऋण दिएको भन्दा धेरै गुणाको तमसुक गरेको आरोपमा उनलाई आइतबार साँझ पक्राउ गरिएको हो ।
पक्राउ परेका कलवारमाथि अनुसन्धान गरी ठगी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए । उनले सर्लाहीका गरिब तथा निमुखालाई ऋण दिने बहानामा ठगी गरेको समाचार आइतबार विभिन्न पत्रपत्रिकाहरुमा छापिएका थिए ।
कलवारमाथि स्थानीय २९९ जनालाई एक करोड ९ लाख ५१ हजार ऋण दिएर ७ करोडभन्दा बढीको तमसुक गरेको आरोप छ । न्याय खोज्दै पीडित काठमाडौं आएपछि घटना बाहिरिएको थियो ।