
(From left) Nepali Congress senior leader Sher Bahadur Deuba, acting President Ram Chandra Paudel and General Secretary Krishna Prasad Sitaula at a party meeting, in Kathmandu, on Sunday, February 14, 2016. Photo: RSS
भक्तपुर, भदौ २१ । बोडेमा आजदेखि शुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेसका शीर्ष नेताबीच आरोप प्रत्यारोप चलेको छ ।
नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र काङ्ग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा भएको सो कार्यक्रममा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आरोप प्रत्यारोप चलेको हो ।
सभापति देउवाले निर्वाचनमा पार्टीमा अन्तर्घात गर्नेलाई कुनै पनि हालतमा कारवाही गरिने बताए । “पार्टीमा अन्तर्घात गर्नेलाई कारवाही हुन्छ, कारवाही गर्न कसले रोक्छ हेर्छु म ? चुनावमा पार्टीलाई हराउनेलाई कारवाही गर्न नपाउने ? कारवाही हुन्छ, हुन्छ ।”
उनले निर्वाचनमा हराउनेप्रति आक्रोश पोख्दै भने, “चुनावमा पार्टी किन हा¥यो ?, साँच्चिकै पार्टी भित्र एकता भएर हारेको हो ?, टिकट पाइन भनेर एकले अर्कोलाई हराउन खोजेर हारेको हो ।” सभापति देउवाले पार्टी एक हुनु जरुरी रहेको र आउँदो उपचुुनावमा काङ्ग्रेसले जित्नुपर्ने र जितको शुरुआत भक्तपुरबाटै हुनुपर्ने बताए ।
स्वतन्त्ररूपमा लेख्न र बोल्न नपाउने देशमा लोकतन्त्र फस्टाउन नसक्ने टिप्पणी गर्दै सभापति देउवाले प्रजातन्त्रका लागि काङ्ग्रेसले २००७ सालदेखि लड्दै आएको प्रष्ट पारे ।
“रामचन्द्रजी, अहिले पनि सरकारको गलत कामकाविरुद्ध हामी लडिरहेका छौँ, संसद्देखि सडकसम्म आवाज उठाएका छौँ”, उनले भने । सरकारले एकदलीय सर्वसत्तावाद लाद्न खोजेको देउवाको आरोप थियो ।
वरिष्ठ नेता पौडेलले सरकारको गलत कामका विरुद्ध काङ्ग्रेसले आवाज उठाउन नसकेको बताए । “दुई तिहाइको बलमा सरकारले संवैधानिक अङ्गदेखि विभिन्न क्षेत्रमा एकतर्फीरूपमा भर्ना गरिरहेको छ, काङ्ग्रेसले आवाज उठाउन सकेन, रोक्न सकेन”, उनले भने ।
काङ्ग्रेस सही बाटोमा हिँडे मात्रै देश सही बाटोमा हिँड्छ भन्दै पौडेलले पुरानै अन्धविश्वास, गुटउपगुटको एउटा एउटा हाँगो समातेर अन्धविश्वासतर्फ धकेलिँदै गएको काङ्ग्रेस नभई लोकतान्त्रीकरण गरेर जनताले खोजेको काङ्ग्रेस बनाउनु जरुरी रहेको उनको भनाइ थियो । “सरकार सफल हुन नसकी आत्तिएको छ”, पौडेलले भन्नुभयो ।
काङ्ग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले पार्टीभित्र एकले अर्कोलाई गर्ने दोषारोपणबाट मुक्त हुँदै पार्टीलाई जनतासँग जोड्नुपर्ने बताए ।
कार्यक्रममा काङ्ग्रेस महामन्त्री डा शशांक कोइरालाले पार्टी एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।