ऊर्जा उद्यमीको गुनासो– बैंकले घर खेत लिलाम गर्न लाग्यो

दियो पोस्ट  

काठमडौं, भदौ २१ । सरकारले दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । स्वदेशमा निजी क्षेत्रलाई पनि साथमा लिएर जाने सरकारको खुला र स्पष्ट लक्ष्य छ । सोहीअनुसार काम पनि भइरहेको छ ।

निजी क्षेत्रले राखेका अधिकांश माग पनि सरकारले पूरा गर्दै आएको छ । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणकै करीब हाराहारीमा ऊर्जा उद्यमीले पनि विद्युत् उत्पादन गरिरहेको छ ।

सरकारी तहमा १०८ वर्षमा कूल ३० वटा आयोजनाबाट ५६३ मेगावाट विद्युत् उत्पादन गर्दा निजी क्षेत्रले २५ वर्षमा मात्रै ८३ वटा आयोजनाबाट ५६१ मेगावाट विद्युत् उत्पादन गरेको छ । सरकारले हाल निर्माण गरिरहेका नौ आयोजनाबाट ९५७ मेगावाट विद्युत् उत्पादन हुनेछ । यस्तै प्रस्तावित १० वटा आयोजनाबाट दुई हजार २८५ मेगावाट क्षमताको आयोजना निर्माणको क्रममा रहेको छ ।

निजी क्षेत्रबाट विद्युत् खरीद सम्झौता भएर निर्माणका क्रममा रहेका आयोजनाको क्षमता दुई हजार ६१४ मेगावाट रहेको छ । यस्तै ‘कनेक्सन एग्रिमेन्ट’ भएका ४५ आयोजनाबाट दुई हजार १४१ मेगावाट विद्युत् उत्पादन हुनेछ । यी र यस्तै तथ्याङ्क बोकेर ऊर्जा उद्यमीको एक समूह शुक्रबार दिउँसो २ बजे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटन पुगे । उनीहरुले नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पु¥याएको भूमिकाको बारेमा सविस्तार बयान गरे । सरकारी जत्तिकै हैसियतमा आफू पनि रहेको तथ्याङ्क पेश गर्दै उनीहरुले गुनासोको पोको फुकाए ।

“मन्त्री ज्यू, हामी मर्कामा प¥यौँ, आयोजना डुब्न लाग्यो । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणसमेत तिर्न नस्क्ने अवस्थामा पुग्यो । स्वपूँजीसमेत डुब्ने अवस्थामा पुग्यो, केही उपाय सुझाइदिनुप¥यो ।” निजी क्षेत्रबाट सञ्चालन भएका रुग्ण जलविद्युत् आयोजनाका समस्या र समाधानका उपाय भन्दै इञ्जिनीयर सूर्यप्रसाद अधिकारीले लामै कार्यपत्र प्रस्तुत गर्नुभयो । अधिकारी रुग्ण जलविद्युत् आयोजना समन्वय समितिका संयोजकसमेत हुनुहुन्छ । सरकारले आफूहरुलाई नहेरेको र आफूहरुको घरवास उठ्न लागेको भन्दै आक्रोशित मुद्रामा ऊर्जा उद्यमी मन्त्रालय पुगेका थिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका निमित्त सचिव प्रविणराज अर्याल, सहसचिव नवीनराज सिंह, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंहलगायतका पदाधिकारीलाई साथमा राखेर मन्त्री पुनले ऊर्जा उद्यमीको गुनासो सुन्ने र समस्याको समाधानका लागि आफूले पहल गर्ने बताएपछि ऊर्जा उद्यमीले सविस्तार आफ्ना कुरा सुनाए । इञ्जिनीयर अधिकारीका अनुसार रुग्ण अवस्थामा पुगेका २५ वटा आयोजनाको ऋण मात्रै रु ३६ अर्ब रहेको छ भने उनीहरुले स्वपूँजीका रुपमा रु १६ अर्ब लगानी गरेका छन् । निजी क्षेत्रका हाल सञ्चालनमा रहेका कूल ८३ आयोजनामध्ये ६६ आयोजनामा मात्रै रु ५२ अर्ब लगानी छ । कूल आयोजनामध्ये १७ वटा आयोजनाले मात्रै साँवा र ब्याज रकम समयमै भुक्तानी गरेका छन् ।