यातायात व्यवसायीहरुको गुनासोः ‘नीजिले सार्वजनिक सवारी साधनको काम गर्न थालेपछि कसरी बाँच्ने ?’

Diyo post  

काठमाडौँ, भदौ २२ । यातायात व्यवसायीहरुले नीजि सवारी साधनका कारण सार्वजनिक यातायात व्यवसायीहरु संकटमा परेको बताएका छन् । अखिल नेपाल यातायात मजदूर संघ कलंकी–वल्खुले शनिबार आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनिकरण अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले यातायात क्षेत्रमा काम गर्ने मजदुर र व्यवसायीहरुलाई सरकारले उचित मुल्यांकन नगरेको आरोप लगाएका छन् । यातायात क्षेत्रमा कामगर्ने मजदुरहरुले एकदिन काम छोडेको खण्डमा देश नै ठप्प हुने बताउँदै सरकारले उचित मुल्यांकन गर्नुपर्ने बताए ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भीम प्रसाद ढकाल, महानगरिय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीसहित स्थानिय वडाध्यक्ष , वुद्धिजीवि र यातायात व्यवसायी सघका पदाधिकारीहरुको उपस्थितीमा सम्पन्न भएको कार्यक्रममा यातायात क्षेत्रलाई सभ्य र मर्यादित कसरी बनाउने, सवारी चालक र सहचालकहरुको भुमिका र व्यवहार, कानुनी प्रावधान, सडक अनुशासन, सवारी चालक र सहचालकले राज्यबाट पाउने सेवा सुविधा लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै अखिल नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष रामचन्द्र कार्कीले यातायात क्षेत्रमा काम गर्ने मजदुरहरुलाई सरकारले विशेष व्यवस्था गरेको बताएका छन् । उनले सामाजिक सुरक्षा कोषमार्फत यातायात क्षेत्रमा कार्यरत मजदुरहरुको सम्वन्धमा राज्यले सेवा सुविधाहरुको ज्ञारेन्टी गरेको भएपनि मजदुरहरु त्यसबारेमा अनभिज्ञ रहेको बताए । उनले सवारी चालक र सहचालकलाई युनिफर्म र परिचयपत्र अनिवार्य गर्नुपर्नेमा जोड दिए । सबै कम्पनीहरुले एउटै युनिफर्म राखि लोगोमात्र फरक राख्न उनको सुझाव थियो । ‘यसो गर्नाले यातायात क्षेत्रमा एकरुपता देखिन्छ’ उनले भने । उनले नीजि सवारी साधनहरुले पनि सार्वजनिक सवारी साधनसरह यात्रु ओसार्न काम भएको भन्दै यसको विरोध जनाएका छन् । नीजि सवारी साधनले सार्वजनिक सरहको काम गर्दा सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने चालक सहचालक र कम्पनीहरु संकटमा पर्ने बताउँदै यसको छिटै समाधान गर्न माग गरे ।

त्यस्तै काठमाडौँ महानगरपालिका १४ नम्बर वडाका वडाध्यक्ष शोभा सापकोटाले कलंकी, बल्खु लगायतका स्थानको यातायात क्षेत्रमा चरम लापरवाही भएको औँल्याउँदै तत्काल समाधान गर्नुपर्ने बताए । यात्रुहरुलाई सवारी चालक, सहचालक र टिकट काउन्टरले गर्ने व्यवहारमा सुधार ल्याउनु पर्ने बताउँदै त्यसको लागि आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा यातायात कम्पनी अन्तरसमन्वय समितिका अध्यक्ष नरबहादुर रानाले बल्खु कलंकी क्षेत्रको यातायात क्षेत्रमा देखिएको समस्यालाई सबै मिलेर हल गर्नुपर्ने बताए । चाडवाड नजिकिँदै गर्दा यातायात क्षेत्रमा देखिने विकृतीहरुलाई रोक्नका लागि सबै संग समन्वय गरि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै महानगरिय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी उत्तमराज सुवेदीले यातायात क्षेत्रमा हुने गरेको आपराधिक क्रियाकलाप लाई रोक्न र यातायात क्षेत्रलाई मर्यादित तथा व्यवस्थित बनाउन जोड दिए । उनले चालक र सहचालकलाई अनिवार्य रुपमा युनिफर्म र परिचय पत्रको व्यवस्था गर्नुपर्ने बताए । युनिफर्म मर्यादित बनाउन जिम्मेवारीबोध गराउने एसएसपी सुवेदीको दावि थियो ।

यातायात क्षेत्रमा विचौलियाहरुको भिड समेत लाग्ने गरेको बताउँदै एसएसपी सुवेदीले युनिफर्म लगाएपछि विचौलियाहरु सलबलाउन नपाउने बताए । सवारी चालक र सहचालकले यात्रुहरु संग गर्ने व्यवहारलाई पनि सुधार गर्न उनले सुझाव दिएका छन् । यात्रुहरुलाई आफ्नै दाइ, बाबु ,आमाको व्यवहार गरेमा यात्रुहरुले पनि चालक र सहचालकसंग नराम्रा व्यवहार नगर्ने उनले बताए । यातायात क्षेत्र नाफामुलक भन्दा पनि सेवामुलक भएकाले यात्रुहरुलाई सुरक्षित र सहज रुपमा उनिहरुको गन्तब्य सम्म पुर्याउने पहिलो प्राथमिकताको विषय रहेको बताए ।

त्यस्तै महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले काठमाडौँलाई नमुना ट्राफिक एरिया बनाउने रहर भएको बताएका छन् । त्यसका लागि सम्पुर्ण यातायात व्यावसायी, सवारी चालक, सहचालकहरुले आफुलाई सहयोग गर्न आह्वान गरे । केही दिन अघि मात्र ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका ढकालले ट्राफिक व्यवस्थालाई उत्कृष्ठ बनाउन आफुले सक्दो कोशिस गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सो अन्तरक्रिया कार्यक्रममा ट्राफिक प्रहरी कार्यलय कलंकीका इन्चार्ज प्रहरी निरिक्षक केशव भट्टले प्रोजेक्टरको माध्यमबाट ट्राफिक नियम, सवारी दुर्घटनाको तथ्यांक, ट्राफिक प्रहरीको संजाल लगायत अत्यन्तै महत्वपुर्ण विषयमा जानकारी गराएका थिए ।

उनले सवारी दुर्घटनामा दैनिक ७ जनाको मृत्यु हुने गरेको बताए । काठमाडौँ उपत्यकामा मात्रै आर्थिक बर्ष २०७५÷०७६ मा सवारी दुर्घटनामा परि २ सय ५४ जनाको मृत्यु भएको तथा ३ सय १७ गम्भिर घाइते भएको तथ्यांक प्रस्तुत गरे ।

सवारी चालकको सहजताका लागि लामो दुरीका विभिन्न १७ ठाउँमा टाइम कार्ड राखिएको उनले बताए । सो स्थानमा चिकित्सक, मेकानिक्स र इन्जिनियरहरु समेत खटिएर सवारी र चालकको अवस्थाबारे बुझ्ने गरेको बताए ।

कार्यक्रममा सवारी चालक तथा सहचालकहरुले आआफ्नो गुनासो लिखित रुपमा व्यक्त गरेका थिए । सवारी चालक र सहचालकको गुनसोलाई ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकाल र अध्यक्ष नरबहादुर रानाले उत्तर दिएका थिए ।

कार्यक्रममा यातायात व्यवसायी कम्पनीहरुले आ–आफ्नो कम्पनीका युनिफर्म वितरण गरेका थिए ।

सम्बन्धित खबर