काठमाडौँ, भदौ २४ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले उपत्यकामा बन्न लागेको तीन प्रहरी कार्यलयको नयाँ भवन शिलान्यास गरेका छन् । टेकुमा बन्न लागेको महानगरिय अपराध महाशाखा, भृकुटीमण्डपमा बन्न लागेको नेपाल पुलिस क्लव र भद्रकालीमा निर्माण हुन लागेको महानगरिय अपराध महाशाखाको भवनको शिलान्यास गरेका हुन् ।
टेकुमा बन्न लागेको महानगरिय अपराध महाशाखा निर्माणका लागि सरकारले ९ रोपनी जग्गा प्रदान गरेको छ । सो जग्गामा महाशाखाको भौतिक संरचनाले ७५ हजार बर्गफिट क्षेत्रफल ओगट्ने छ । त्यस्तै महानगरिय प्रहरी परिसरको नयाँ भवन निर्माणका लागि सरकारले भद्रकालीमा १५ रोपनी जग्गा प्रदान गरेको छ । परिसर १ लाख ६५ हजार वर्गफिट क्षेत्रमा फैलने छ । त्यस्तै २६, २ आना १ पैसा ३ दाम क्षेत्रफल रहेको नेपाल पुलिस क्लवको नवनिर्माण हुने भौतिक संरचनाले ६० हजार वर्गफिट क्षेत्रफल ओगटने छ ।
नवनिर्माण हुने महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको भवन आधुनिक साथै सुविधायुक्त एवं कार्यालयको कार्यप्रकृति बमोजिम कार्यालय, ब्यारेक, मिटिङ हल, व्यायाम हल, मेश र बाथरुम आदिको व्यवस्थापन गरिने छ । सेवाग्राहीले सहजताका साथ सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले आवश्यक संख्यामा कार्यालय कक्ष, प्रतिक्षालय, चमेनागृह र खुल्ला स्थानको उत्तम एवं सुरक्षित प्रबन्ध गरिने छ । दुवै संरचनाहरुमा भूकम्प प्रतिरोधात्मक, अपाङ्गमैत्री, महिलामैत्री, वातावरणमैत्री हुनुको साथै वेसमेन्ट पार्किङको समेत व्यवस्था गरिनेछ ।
साथै नवनिर्माण हुने नेपाल पुलिस क्लवको बहुउद्देश्यीय भवनमा अत्याधुनिक सुविधा सहितको मुख्य हल र अन्य २ वटा कन्फ्रेन्स हल तथा वेसमेन्ट पार्किङको व्यवस्था गरिनेछ । भवन अत्याधुनिक प्रविधि अनुरुप डिजाइन गरिएको छ ।
परियोजना तीन बर्षभित्र निर्माण सम्पन्न गराइसक्ने प्रहरी प्रधान कार्यलय भौतिक पुर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरिक्षक इन्जिनियर लोकेशचन्द्र सिंहले बताएका छन् । उनले निर्माण हुन लागेका नयाँ भवनहरुको सम्वन्धमा संक्षिप्त जानकारी समेत दिएका छन् ।
शिलान्यास गर्दै प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले सरकारबाट जग्गा प्राप्ती हुनु आफैँमा उपलब्धी भएको बताउँदै सम्पुर्ण भवन निर्माण पारदर्शी ढंगले गरिने बताएका छन् । उनले भवन निर्माणका क्रममा कुनैपनि अनियमितता सह्य नहुने चेतावनी समेत दिएका छन् ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, स्थानीय निकायका प्रतिनिधिहरु, उपत्यकास्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु तथा जवानहरु लगायतको उपस्थिति थियो ।
फोटोः नेपाल पुलिसको फेसबुक पेज