शुक्रपथ सहकारीका अध्यक्षको ‘जग्गादलाली धन्दा’ : जनताको लगानी, अध्यक्षको मनोमानी !

Diyo post  

दया दुधराज

काठमाडौं, २४ भदौ । राजधानीस्थित न्युरोडमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष निरहरी उपाध्याय लगायत उच्च अधिकारी जग्गा दलाली धन्दामा लाग्ने गरेको पाइएको छ । उनीहरुले सहकारीको करोडौं रुपैयाँ निकालेर जग्गा दलालीमा लगानी गर्ने र दलालीबाट आएको करोडौं कालोधन आफ्नो नाममा कुम्लाउने गरेको पाइएको हो ।


सहकारीकै सहायक कम्पनी शुक्रपथ इन्भेष्टमेन्टको नाममा सहकारीका अध्यक्ष उपाध्याय र प्रमुख कार्यकारी अधिकृत नरेन्द्र विष्टको मिलेमतोमा राजधानीका विभिन्न ठाउँमा जग्गा दलाली धन्दा चलाउने गरेको प्रमाण दियोपोस्टले फेला पारेको छ ।


शुक्रपथ सहकारीका अध्यक्ष तथा शुक्रपथ इन्भेष्टमेन्टका समेत अध्यक्ष रहेका निरहरी प्रसाद उपाध्यायसहित उच्च अधिकारीहरुले प्लटिङ गरि बेच्नका लागि राजधानीको नैकापमा ७० रोपनी जग्गा खरिदका लागि गरेको सम्झौता प्रमाणसहित फेला परेको छ ।


राजधानीको नैकाप र बलम्बु क्षेत्रमा उपाध्यायले जग्गा खरिदका लागि २०७४ भदौ २६ गते सम्झौता गरेका थिए । सम्झौता अनुसार शुक्रपथ इन्भेष्टमेन्ट नामक कम्पनिका विभिन्न व्यक्तिको नाममा उक्त जग्गाहरु नामसारी समेत भएको थियो ।


काठमाडौंको पुरानो नैकाप गाविस वडा नम्बर ४ र बलम्बु गाविस वडा नम्बर ९ को कित्ता नम्बर, ७८, ४५, १५, २८, ६, १७, २९, ८०, ८१, ७७, ४, १०९, २, ३, ५, १४, ३०, १६, १५०, १२९, १३०, १२७, १२८, १२६, १३६, १७८, ११३, १०७, ११८, १४८, १४९, ११५, ११३, ११७ का जग्गाहरु शुभ श्री इन्भेष्टमेन्टले बैना गरेको थियो । उक्त जग्गाहरु शुभ श्री इन्भेष्टमेन्ट र शुक्रपथ इन्भेष्टमेन्टबीचको सम्झौताको आधारमा लेनदेन भएको पाइएको छ ।


शुक्रपथ सहकारीका अध्यक्ष उपाध्यायले उक्त जग्गाको बैना रकम आफैले तिरेर जग्गाहरु इन्भेष्टमेन्टको नाममा ल्याएका थिए । सम्झौतामा उल्लेख रकम अनुसार शुक्रपथले उक्त जग्गा बैना बापत मात्रै १२ करोड १७ लाख रुपैयाँ बुझाएको उल्लेख छ । उक्त जग्गाहरु खरिद गरि प्लटिङ गरेर बेच्ने र मुनाफा भागवण्डा गर्ने सम्झौतामा उल्लेख छ ।


‘माथि उल्लेख गरेका जग्गाहरु मध्ये प्रथम पक्ष मध्यको शुभश्री इन्भेष्टमेन्ट प्रा.लीले का.जी पुरानो नैकाप गाविस वडा नम्बर ३ (ख) को कित्ता नम्बर १२,३२, ३१, ६१ र ७९ का जग्गाहरु आफ्नो नाममा राजिनामा पास गरि लिएकोमा यो करारनामा लागु भए पश्चात प्रथम पक्ष मध्येकै शुक्रपथ इन्भेष्टमेन्ट प्रालीको सञ्चालकको नाममा नामसारी गर्न शुभश्री इन्भेष्टमेन्ट प्रा.ली मन्जुर गर्दछ,’ पहिलो करारनामाको दुई नम्बर बुँदामा भनिएको छ,‘साथै अब उपरान्त यसै करारनामा बमोजिम खरिद हुने जग्गाहरु समेत शुक्रपथ इन्भेष्टमेन्ट प्रा.लीको सञ्चालकको नाममा राजिनामा पास गर्ने सर्तमा शुभश्री इन्भेष्टमेन्ट प्रा.ली र दोस्रो पक्ष समेत मन्जुर गर्दछ ।’

त्यस्तै सम्झौताको ३ नम्बर बुँदामा भने रकम के कति दिने भनी भागवण्डा भएको छ ।


‘माथि उल्लेखित कित्ता नम्बरका जग्गाहरु खरिद गर्न र बैना गर्न प्लटिङ, डेभ्लोपमेन्ट समेत गरी रु. १२,१७,००,००० (बाह्र करोड १७ लाख रुपैयाँ) शुभ श्री इन्भेष्टमेन्ट प्रा.लीको लगानी लागि सकेकोमा अब प्रथम पक्षले बैना गरि राखेको माथि उल्लेखित कित्ता नम्बरका जग्गाहरु र अन्य जग्गाहरु खरिद गर्न यसै कारारनामाका अर्का प्रथम पक्ष शुक्रपथ इन्भेष्टमेन्ट प्रा.लीले समेत १२,१७,००,००० (बाह्र करोड १७ लाख रुपैयाँ) लगानी गरी माथि उल्लेखित जग्गाहरु र अन्य जग्गाहरु संयुक्त रुपमा खरिद गरी लिन मन्जुर गर्दछ,’ सम्झौताको ३ नम्बर बुँदामा भनिएको छ,‘प्रथम पक्षहरुबीचमा कुनैले बढी लगानी गरेमा सोही अनुपातमा नाफा र घाटाको दायित्व समेत ब्होर्न प्रथम पक्षहरु समेत मन्जुर गर्दछ ।’


सहकारीकै भगिनी कम्पनी रुपमा विकास भएको शुक्रपथ इन्भेष्टमेन्ट मार्फत जग्गा प्लटिङ र बेचविखन गर्ने सम्झौतामै उल्लेख छ ।


सम्झौताको ५ नम्बर बुँदामा जग्गाहरु प्लटिङ गरी बेचबिखन गर्ने र आवाश क्षेत्र निर्माण गर्ने समेत उल्लेख छ ।


‘यसरी प्रथम पक्षले खरिद गरिसकेपछि उक्त जग्गाहरुलाई प्लटिङ गरी आवासका लागि उपयुक्त घडेरीहरुमा डेभ्लोपमेन्ट गरी विक्री गरिनेछ,’ करारनामाको ५ नम्बर बुँदामा भनिएको छ ।


मुल्यांकनमा गोलमाल गर्ने खेल !


खरिद गरिएको भन्दा ओभर भ्यालुएशन गर्ने विषयमा सम्झौतामै उल्लेख गरिएको छ । कुल ७५ रोपनीलाई २५ करोड हाराहारीमा खरिद गरेर कुल ४० करोड भन्दा बढी मुल्यांकन गर्नुपर्ने सम्झौतामै उल्लेख छ ।


जग्गा मुल्यांकनबारे बुँदा नम्बर ८ मा लेखिएको छ,‘दोस्रो पक्षले प्रथम पक्षलाई माथि उल्लेखित कित्ता नम्बरका जग्गाहरु खरिद गराइदिँदा प्रत्येक जग्गाको प्रतिरोपनी ५६ लाख मुल्य कायम गरिनेछ । सो मुल्यभन्दा बढीमा दोस्रो पक्षले प्रथम पक्षलाई जग्गाको मुल्य तोक्न पाइने छैन ।’ ५६ लाख प्रति रोपनी मुल्यांकन गर्दा करिब ४० करोड मुल्य पर्न जाने हुन्छ । हालसम्म शुक्रपथ सहकारीका सञ्चालकहरुको नाममा ३५ रोपनी जग्गा मात्रै पाश भएको स्रोत बताउँछ ।


शुभश्रीको बैना, शुक्रपथको नाममा नामसारी


शुभश्री इन्भेष्टमेन्ट प्रालीले शुरुमा पुरानो नैकापका सानु महर्जन, न्हुच्छेमाया महर्जन, राजु प्रसाद दवाडी, नारायण प्रसाद दवाडी, दुर्गा प्रसाद दवाडी, प्रद्ययुम्न प्रसाद दवाडी, शम्भु प्रसाद आचार्य, गीता दुवाडी, सविना खनाल, लक्ष्मिनाथ दुवाडी, पुष्करनाथ दुवाडी र बलराम दुवाडी समेतका नाममा मालपोत कार्यालय कलंकीमा एकलौटी एवं संयुक्त रुपमा दर्ता कायम रहेका जग्गाहरु बैना गरेको थियो ।

उक्त जग्गाहरु २०७४ साल मंसिर ४ गतेको दोस्रो कारारनामा अनुसार शुक्रपथ इन्भेष्टमेन्टको नाममा नामसारी भएको थियो । शुक्रपथ इन्भेष्टमेन्ट र शुभश्री इन्भेष्टमेन्टले जग्गा बेचविखन पश्चात आउने नाफा समेत भागवण्डामा लिने सम्झौतामा उल्लेख छ ।


२०७४ मंसिर ४ गते भएको दोस्रो करार सम्झौता अनुसार शुक्रपथ इन्भेष्टमेन्ट र शुभश्री इन्भेष्टमेन्टको लगानी शत प्रतिशत हुने तर नाफामा भने भागबण्डा हुने उल्लेख छ ।


‘प्रथम पक्षको यस आवास योजनामा लगानी शत (१००) प्रतिशत हुनेछ । यस सत प्रतिशत लगानी मध्ये प्रथम पक्ष मध्येकै शुक्रपथ इन्भेष्टमेन्ट कम्पनि प्रा.लीको लगानी ५० प्रतिशत र शुभश्री इन्भेष्टमेन्ट कम्पनिको ५० प्रतिशत लगानी रहनेछ,’ दोस्रो करार नामाको २ नम्बर बुँदामा भनिएको छ,‘तर खुद मुनाफाको शुभश्री इन्भेष्टमेन्ट प्रालीले ५० प्रतिशत र शुक्रपथ इन्भेष्टमेन्ट कम्पनि प्रा.लीले ४० प्रतिशत मात्र प्राप्त गर्नेछन् । बाँकी रहन गएको १० प्रतिशत खुद मुनाफा यसै करारनामाको दोस्रो पक्षले प्राप्त गर्नेछ ।’ करारनामामा दोस्रो पक्ष भनिएका व्यक्ति जग्गा दलाल हुन् , महेश सिंह ठकुरी सहित २ जनालाई १० प्रतिशत कमिशन दिने लिखित सम्झौतामै उल्लेख छ ।

अध्यक्ष निरहरी प्रसाद उपाध्यायको जग्गा दलाली धन्दाबाट अकुत सम्पत्ति !


शुक्रपथ सहकारीका अध्यक्ष निरहरी उपाध्यायले सहकारीको रकम मनोमानि रुपमा निकाल्ने र घरजग्गामा लगानी गरेर अकुत कमाउने गरेको आरोप लागेको छ ।


उपाध्यायले शुक्रपथ इन्भेष्टमेन्टकै नाममा विभिन्न स्थानमा घर जग्गा दलाली धन्दा गर्ने गरेका छन् । उनले शुक्रपथ सहकारीबाट रकम निकालेर इन्भेष्टमेन्ट कम्पनिको नाममा जग्गा खरिद गरेपनि आफ्नो नाममा समेत जग्गा राखेका छन् ।


उनी सहितका सञ्चालकहरुको नाममा अधिकांश जग्गा नामसारी गरिएको छ । बचतकर्ताको पैसामा जग्गा दलाली धन्दा गर्ने गरेका अध्यक्ष निरहरीले राजधानीमै करोडौं पर्ने बंगला खरिद गरेको स्रोतले जानकारी दियो ।

शुक्रपथको जग्गा दलालीधन्दामा चर्चित टेलिभिजनको बार्गेनिङ !

नेपाली समाजमा एउटा टलिभिजन निकै चर्चित छ । चर्चाको शिखरमा रहेका एक टेलिभिजन प्रस्तोतालाई देखाएर टेलिभिजनले शुक्रपथको ठगी धन्दाका बिषयमा एउटा प्रोमो प्रशारण भएको थियो । प्रोमोमा शुक्रपथ सहकारीको ‘कालोधन्दा’ भन्दै करिब २ मिनेटको प्रोमो बजाएको थियो । प्रोमो बजाए पनि उक्त टेलिभिजनले फूल रिपोर्ट भने कहिल्यै बजाएन । बरु उल्टै शुक्रपथ सहकारीका अध्यक्षले खरिद गरेको जग्गामा पार्टनरसिप खोजे । टेलिभिजनका ती मालिकले राजधानीबाटै प्रकाशित हुने एक दैनिक पत्रिकाका मालिकका छोरालाई जग्गाको पार्टनरसिप राखेर प्रोमो नै डिलिट गरेर फालेका छन् । यस विषयको विस्तृत रिपोर्ट अर्को अंकमा प्रकाशन गर्ने छौँ ।


अध्यक्ष निरहरी भन्छन्,‘साधारण सभाकै निर्णय अनुसार किनेका हौँ’


शुक्रपथ सहकारीका अध्यक्ष निरहरी प्रसाद उपाध्यायले आफूहरुले साझेदारीमा जग्गा किनेको बताए । ‘हामीले पार्टनरीमा किनेका हौँ । सहकारीको आवाश क्षेत्र बनाउने भनेर सहकारीको सातौँ साधरण सभाले नै पारित गरेको थियो,’ उनले दियोपोस्टसँग भने,‘हामीले सिंगल गर्न खोज्दा पार्टनरले नै सकारेको हो ।’


तर जग्गाहरु भने सहकारीका सञ्चालकहरुकै नाममा छ । उनले सहकारी आवास क्षेत्र बनाउने उद्देश्यले जग्गा खरिद गरेको बताएपनि सम्झौतामा भने जग्गा प्लटिङ गरेर बेचविखन गर्ने उल्लेख छ ।

सम्बन्धित खबर