कांग्रेस सभापतिको हात भाँच्ने नेकपाका तीन कार्यकर्ता पक्राउ, ३ जनाको खोजी चल्दै

दियो पोस्ट  

बाँके, भदौ २७ । नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले बताए ।

सभापति कोइराला लगायतका काङ्ग्रेस कार्यकर्तामाथि नेकपाका कार्यकर्ताको एक समूहले मञ्चमै पुगेर आक्रमण गरेको बाँके काङ्ग्रेसका सदस्य सुधांशु कोइरालाले दाबी गरेका छन् । तर उनको आरोपलाई नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले खण्डन गरेका छन् । अध्यक्ष खरेलले भने, “काङ्ग्रेसको कार्यक्रम बिथोल्ने हाम्रो कुनै नीति नै छैन । काङ्ग्रेसका कुनै एक कार्यकर्तासँग हाम्रो पार्टीका समर्थक युवाहरुको व्यक्तिगत विवादले एक्कासि जन्माएको यो दुःखद् घटना मात्र हो ।”

नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत हिजो बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी सभापति कोइराला लगायतका काङ्ग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो ।

आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ ।