काठमाडौँ, भदौ २७ । नेपाली काँग्रेस बाँकेकी जिल्ला सभापती किरण कोइरालामाथि आक्रमण गरेको भन्दै खजुरा गाउँपालिका–१ का वडाध्यक्ष सुनिल मल्ल विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।
शुक्रबार वडाध्यक्ष मल्लविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
कोइरालामाथि आक्रमण गरेको आरोपमा प्रहरीले रोसनसिंह ठकुरी, लोकबहादुर शाही र निर्मलसिंह खत्रीलाई पक्राउ गरिसकेको छ।
बिहीबार कांग्रेसको बाँके जिल्ला सभापति किरण कोइरालामाथि नेकपा कार्यकर्ताले कुटपिट गरेका थिए।
कुटपिटबाट कांगेस जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिएको छ।
दोश्रो चरणको जागरण अभियानमा सत्तारुढ दलका कार्यकताले अवरोध गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
कार्यक्रम भइरहेको हललाई ‘यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न आउँदैन’ भन्दै आक्रमण गरेका थिए।
यसैगरी केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि नेकपाले सुनियोजित आक्रमण गरेको कांग्रेसले दाबी गरेको थियो।
कांग्रेसको कार्यक्रम विथोल्ने उद्देश्यका साथ सडकमा समेत नाराबाजी गर्दै उनीहरूले आक्रमण गरेका थिए।