सिन्धुपाल्चोकमा निर्माण सम्पन्न भएका पाँच सरकारी कार्यलयको उद्घाटन

Diyo post  

चौतारा, भदौ २८ । भुकम्पबाट क्षेति भएका सिन्धुपाल्चोकका पाँच सरकारी भवन पुननिर्माण सम्पन्न भएपछि उद्घाटन गरिएको छ । शनिबार राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशील ज्ञवाली, संघीय संसदका सांसदद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङले पुननिर्माण सम्पन्न भएका भवनहरुको उद्घाटन गरेका हुन् ।

उद्घाटन गरिएका भवनहरुमा जिल्ला वन कार्यालय एनेक्स भवन, कोष तथा लेखा नियन्त्रकको कार्यालय, प्रमुख जिल्ला अधिकारीको आवास भवन, मालपोत कार्यालय एनेक्स भवन र जिल्ला आकस्मिक सहायता भवन छन् ।

यी भवनको नेपाल सरकार र एसियाली विकास बैंकको आर्थिक सहयोगमा भवनहरु पुनर्निर्माण गरिएको हो । पाँचवटा भवनको पुनर्निर्माण लागत १५ करोड रुपैयाँ छ ।

भदौ २७ गते चौतारामा आयोजित उद्घाटन समारोहमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण गरिएका नयाँ भवनहरुमा सरकारी सेवा प्रवाह अझ प्रभावकारी हुने र जनतालाई थप सुविधा पुग्ने विश्वास व्यक्त गरे । उनले भूकम्पबाट सबै भन्दा बढी मानवीय क्षति भएको सिन्धुपाल्चकोमा निजी आवास, विद्यालय, सरकारी भवन लगायतको पुनर्निर्माणले विपद्लाई अवसरका रुपमा परिणत गरेको बताए ।

जिल्ला वन कार्यालय

सांसद अग्नि सापकोटाले भौतिक संरचनाहरुको पुनर्निर्माणले सिन्धुपाल्चोकको मुहार बदलेको बताए। उनले यसरी पुनर्निर्माण होला भनेर विपद् लगत्तै आफूले नसोचेको उल्लेख गर्दै पुनर्निर्माणमा संलग्न सबैलाई धन्यवाद दिए ।

प्रमुख जिल्ला अधिकारीको आवास भवन

अर्का सांसद शेरबहादुर तामाङले जिल्लामा पुनर्निर्माण राम्रोसँग अघि बढेको बताउँदै मानवीय क्षति भए पनि भूकम्प अभिसाप नभई वरदान सावित भएको बताए। उनले पुनर्निर्माणपछि सिन्धुपाल्चोक विकासको नमूना जिल्लामा पर्ने दाबी गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जनता, जनप्रतिनिधि लगायतलाई धन्यवाद दिए ।

सम्बन्धित खबर