शेरबहादुर देउवा भन्छन्, ‘राजसंस्था फर्किन्छ भनेर नसोच्दा हुन्छ, सोच्नेजति सबै मुर्ख हुन्’

दियोपोस्ट संवाददाता

काठमाडौँ, भदौ २८ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले मुलुकमा पुन राजतन्त्रको उदय हुन्छ भनेर कराउनु मुर्खता भएको बताएका छन् । दाङको तुलसीपुरमा रहेको बीपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्न पुगेका देउवाले पत्रकारहरुसँगका कुराकानीमा राजसंस्थाले नेपालमा शासन गर्ने कुरा सोध्नु नै मुर्खता रहेको बताएका छन् ।

उनले नेपाली काँग्रेसले कहिल्यै पनि राजा फर्काउने पक्षमा नरहेको बताएका छन् । सभापती देउवाले मुलुकमा कम्युनिस्ट सरकारले अधिनायकवाद लाँद्न खोजिरहेकोले सम्पुर्ण प्रजातन्त्रवादीहरु एकजुट हुनुपर्ने बेला आएको बताए । कम्युनिस्ट अधिनायकवादी हुन्छन् भन्ने कुरालाई सुनिँदै आएपनि अहिले आफैले भोगिरहेको बताउँदै सभापती देउवाले प्रजातन्त्रको रक्षाका लागि सबै शक्तिहरुलाई एक हुनका लागि पनि आह्वान गरेका छन् ।

पछिल्लो चरणमा सरकारले विभिन्न किसिमका निर्णयहरुलाई एकतर्फी ढंगले लागु गर्दै गएको र राज्यका विभिन्न निकायहरुलाई अंकुश लगाउन खोजेको समेत बताएका छन् । मिडिया काउन्सिलमार्फत सरकारले आमसंचारलाई संकुचित बनाउन खोजेको पनि आरोप लगाएका छन् ।

उनले बाँकेका जिल्ला सभापती किरण कोइरालामाथि भएको आक्रमणप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताउँदै अपराधीलाई सजायको दायरामा नल्याइन्जेलसम्म संसद चल्न नदिने प्रतिवद्धता समेत व्यक्त गरे ।

सभापती देउवाले पछिल्लो समयमा प्रजातन्त्रमाथि नै आक्रमण भइरहेकोले नेपाली काँग्रेसले शान्तिपुर्ण जागरण अभियान संचालन गरेको समते बताए ।