तरुण दल अध्यक्षद्धारा महासचिव भूपेन्द्रजंग शाही सदस्यसमेत नरहने गरि बर्खास्त (विज्ञप्तीसहित)

दियो पोस्ट  

काठमाडौँ, भदौ २८ । नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाही बर्खास्त भएका छन् । अध्यक्ष जितजंग बस्नेतले उनलाई महासचिव पदबाट हटाइएको जानकारी दिएका छन् ।

शनिबार विज्ञप्ती जारी गर्दै अध्यक्ष बस्नेतले शाहीमाथि पदिय मर्यादा, जिम्मेवारी र आचरणविपरितका कामहरु गरेको भन्दै जिम्मेवारीबाट मुक्त गरिएको बताएका छन् । ‘महासचिव जस्तो महत्वपुर्ण पदमा रहेर तपाईँले आफ्नो पदिय मर्यादा, जिम्मेवारी र नेपाली काँग्रेस पार्टी र नेपाल तरुण दलको आदर्श एवंम सिद्धान्त विपरित गई अनुशासनहिन कार्यहरु गर्नुभएको हुँदा नेपाल तरुणदलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्था अनुसार नेपाल तरुण दलको महासचिव सहित कुनैपनि सदस्य नरहने गरि हटाइएको ब्यहोरा यसै पत्रमार्फत जानकारी गराइन्छ’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

महासचिव शाही भने बस्नेतले हटाउँदैमा आफु नहट्ने बताएका छन् । आफु निर्वाचित महासचिव भएको कारण नेपाली काँग्रेस पार्टीले हटाएको खण्डमा मात्र आफु पदमुक्त हुने उनको धारणा छ । आफुले संगठनभित्र भ्रष्टाचारको विषयलाई उठाएको कारण नै अध्यक्षले आफुलाई धम्कि दिएको बताए ।

उनले वाडीपीडितहरुको राहतका लागि उठाएको रकम समेत अहिलेसम्म पनि पिडितसम्म नपुगेको बताएका छन् । यस विषयलाई लिएर अध्यक्षविरुद्ध अख्तियारसम्म जानेसमेत महासचिव शाहीले बताए ।