काठमाडौँ, भदौ २९ । गृहमन्त्री राम बहादुर थापा बादलले बाँके घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभा वैठकमा बोल्दै मन्त्री थापाले नेपाल कम्युनिस्ट पार्टीले निर्णय गराएर कार्यकर्ताहरुलाई आक्रमण गर्न नपठाइएको बताउँदै घटनालाई राजनीतिक रुपमा नहेर्न आग्रह गरेका छन् ।
मन्त्री थापाले घटनामा संलग्न रहेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको र थप व्यक्तिहरुको खोजिकार्य चलिरहेको बताएका छन् । घटनाप्रति सरकार गम्भिर भएको समेत उनले बताए । काँग्रेस जिल्ला सभापती किरण कोइरालामाथि भएको आक्रमणमा संलग्न निर्मल खत्री, रोशन सिंह ठकुरी र लोकबहादुर शाहीलाई प्रहरीले पक्राउ गरि कानुनी कारवाही अगाडी बढाइसकेको गृहमन्त्रीले स्पष्ठ पारेका छन् ।
उनले शनिबार मात्रै नेपाली काँग्रेसका प्रतिनिधिहरुले सरकारको ध्यानाकर्षण गराएको बताउँदै घटनामा संलग्न जोकोही भएपनि कारवाहीको दायरामा ल्याउने बताए । उनले बाँकेको सुरक्षा संयन्त्रलाई समेत चुस्त बनाइएको बताए ।
मन्त्री थापाले घटनामा संलग्नहरुलाई सरकार तथा पार्टीबाट निर्देशन गरेर कार्यक्रम बिथोल्न लगाइएको नभएको कारण यसलाई राजनीतिकरण नगर्नका लागि नेपाली काँग्रेसलाई आग्रह गरेका छन् ।
गृहमन्त्रीको जवाफ निकै फितलो भएको र संवेदनशील घटनालाई समेत सामान्य रुपमा लिएको भन्दै नेपाली कांग्रेसका सांसदहरुले सदन अवरुद्ध गरेका छन् ।