विमानस्थलमा भएको घटनापछि पर्यटन मन्त्रालयको विज्ञप्ती– ‘जहाजभित्र गरिएको दुर्व्यवहार खवरदारी होइन, गुण्डागर्दी हो’

दियो पोस्ट  

काठमाडौँ, भदौ २९ । शनिबार साँझ नेपालगंज विमानस्थलमा भएको घटनामा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विमानस्थलमा मन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहार र त्यसपछिका घटनाहरुको सम्वन्धनमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै आइतबार साँझ मन्त्री भट्टराईको सचिवालयले विज्ञप्ती जारि गरेको हो ।

मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइँद्वारा जारी विज्ञप्तिमा मन्त्री भट्टराईका कारण विमान उडानमा करिब १५ मिनेट ढिला हुन गएको र यात्रु महानुभावहरुमा पर्न गएको असुविधाप्रति क्षमा मागिएको छ । त्यस्तै सो समूहका केही सदस्यहरुले पूर्व युवराज पारस शाहका विरुद्ध दरबारमा सात लाख हस्ताक्षर बुझाएर आफुहरुलाई दुःख दिएको भन्दै मन्त्री भट्टराईमाथि दुव्र्यवहार गरिएको दाबी गरिएको छ ।

विज्ञप्तीअनुसार विमानस्थलमा पर्यटनमन्त्रीमाथि भएको दुव्र्यवहार र अपशब्द खबरदारी नभई गुण्डागर्दी भएको उल्लेख गरिएको छ । ‘सरकार र जुनसुकै सरोकारवाला निकायलाई खबरदारी गर्नु आम नागरिकको कर्तव्य र अधिकार हो’ विज्ञप्तीमा भनिएको छ । जनताप्रति उत्तरदायी बनाउने उद्धेश्यका साथ गरिएको खबरदारीको हामी सदैव सम्मान गर्दछौँ, विज्ञप्तीमा भनिएको छ, ‘तर, उक्त जहाजभित्र माननीय मन्त्रीज्यूमाथि गरिएको दूव्र्यबहार र अपशब्द खबरदारी होइन गुण्डागर्दी प्रवृत्तीको रहेको हाम्रो ठहर छ ।’

विज्ञप्तीमा नियोजित रुपमा सरकारको विरुद्धमा लाग्नेहरुको समुहले सरकारका अन्य उच्च पदस्थ व्यक्तिहरुलाई जोडेर गरिएको दुष्प्रचार र अभिव्यक्तिहरुको विषयमा पनि मन्त्रालय जानकार रहेको बताइएको छ । अभिव्यक्ति स्वतन्त्रताको हवला दिँदै सो समुहले गरेको बिचार निकृष्ठ मात्र नभई संस्कृती र सभ्यता विरोधी समेत रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।