विप्लव माओवादीको झापा कार्यलयमा प्रहरीको छापा, जनसरकार प्रमुखसहित ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को झापास्थित एक कार्यालयमा प्रहरीले छापा मारेको छ। सो क्रममा झापा जिल्ला सेक्रटरी, जनसरकार प्रमुखसहित ३ जना पक्राउ परेका छन्।

प्रदेश १ प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित विप्लव पार्टीको कार्यालयमा मंगलबार बिहान छापा मारेको थियो।

प्रतिबन्धित नेकपाले झापाको बिर्तामोड नगरपालिका–४ स्थित अनुल सारु मगरको कोठालाई आफ्नो कार्यालयको रुपमा प्रयोग गर्दै आएको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो।

मगरको कोठाबाट कटुवा पेस्तोल २ थान, गोली ४ राउन्ड, आर्थिक सहयोग सम्बन्धी पत्रहरु, परिपत्रहरु, विभिन्न माइन्युट बुकहरु, डायरीहरु, दस्तावेजहरु, सहयोग रसिदहरु, किताबहरु लगायतका विभिन्न सामग्रीहरु बरामद गरिएको छ ।

उक्त हतियार र दस्तावेजसहित प्रहरीले बिर्तामोड नगरपालिका–४ डेरा गरी बस्ने मकवानपुर भीमफेदी गाउँपालिका–२ का २६ वर्षीय अनुल सारु मगर, बिर्तामोड नगरपालिका–४ मेघाबारी चोक बस्ने झापा हल्दिबारी गाउँपालिका–५ का ४४ वर्षीय टीका पोखरेल र इलाम माङसेबुङ गाउँपालिका–१ बस्ने मनिष भन्ने ३४ वर्षीय प्रविन मिश्रलाई पक्राउ गरेको छ।

पक्राउ परेका मिश्र झापा जिल्ला सेक्रटरी हुन् भने पोखरेल जनसरकार प्रमुख हुन्। मगर भने कार्यकर्ता रहेको डिएसपी थापाले बताए। पूर्वी इलाकामा हुने धेरैजसो बम विस्फोटका घटनामा उनीहरुको प्रत्यक्ष संलग्नता रहेको प्रहरीले दाबी गरेको छ।

गत भदौ २२ गते राति बिर्तामोड नगरपालिका–२ चारपानेमा शंकास्पद वस्तु विस्फोट भएको थियो। टीका पोखरेल र प्रविन मिश्र उक्त विस्फोटको घटनामा संलग्न भएको प्रहरीले जनाएको छ।