काठमाडौँ, भदौ ३१ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको कार्यलयमा तोडफोड गरेको आरोपमा वडाध्यक्ष नै पक्राउ परेका छन् । मंगलबार बिहान सोही गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बिरेन्द्र गुरुङ , वडा नम्बर ३ का वडासदस्य गणेश आचार्य र तरुण दलका नेता भनेर चिनिने टिकाराम पौडेल विपुल पक्राउ परेका छन् ।
गाउँपालिकाले शुक्रबार कार्यलय तोडफोड गर्ने चार जनाबिरुद्ध जाहेरी दिएको थियो । नेपाली काँग्रेसबाट तात्कालिन गाउँपालिका अध्यक्षका प्रत्यासी खुसीमान गुरुङ, काँग्रेसबाट निर्वाचित वडाध्यक्ष बिरेन्द्र गुरुङ, वडा नं ८ का प्रत्यासी राम गुरुङ र टिकाराम पौडेलबिरुद्ध किटानी जाहेरी दिएको थियो । जाहेरीपछि वडा प्रहरी कार्यलय बगरले पोखराको जिरो किलोमिटरलाई उनिहरुलाई पक्राउ गरेको हो । फरार भएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गत बुधबार सुचना नदिइएको भन्द ैनेपाली काँग्रेस गाउँपालिका सभापती खुसीमान गुरुङको नेतृत्वमा गएको ४० जनाको समुहले गाउँपालिका कार्यलयमा तोडफोड गरेको बताइएको छ । तोडफोडबाट गाउँपालिकाका २५ वटा कुर्सी भाँचिएका छन् भने टेबुलहरुमा प्वाल परेका छन् ।
गाउँपालिका कार्यलयमा गएर सुचनाको माग गरिँदा कर्मचारी र कार्यवाहक अध्यक्षले कुनैपनि चासो नदिएपछि भनाभन भएको र त्यसपछि तोडफोड भएको स्थानीय युवाहरुले बताएका छन् । गाउँपालिकाले भने सुचना माग गर्ने प्रकृया हुँदाहुँदा पनि तोडफोड गरेर गुण्डागर्दीको शैली अपनाएको बताएको छ ।