काठमाडौं, असोज २ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमलाई तिर्नुपर्ने बक्यौताका हकमा ‘जुनसुकै शक्तिशाली व्यक्ति वा संस्थालाई’ नछाडिने बताएका छन्।
मन्त्री भट्टराईले नेपाल वायुसेवा निगम सुधारका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदन बुझ्नुअघि नै पूर्वराजा ज्ञानेन्द्रकै बक्यौता समेत उठाउने सार्वजनिक अभिव्यक्ति दिएका थिए।
कार्यदलको प्रतिवेदन बुझेपछि बीबीसीले उनलाई त्यो काम कहिलेसम्म सम्पन्न हुन्छ भनेर सोधेको थियो।
बीबीसी नेपाली सेवाको ‘नेपाल सन्दर्भ’ कार्यक्रममा बोल्दै उनले त्यसबारे छिट्टै निर्णय गरिने बताए।
“सञ्चालक समितिको बैठक बसेर त्यसबारे भन्छौँ। तर जो जसको बाँकी छ ती सबैले तिर्नुपर्छ।”
तर पूर्वराजा ज्ञानेन्द्रसँग उठाउने भनिएको बक्यौता स्वयम् उनीसँग लिने वा सरकारसँग भन्ने बिषयमा मन्त्री भट्टराईले स्पष्ट बताएनन्।
“त्यो हामीले निर्णय गरेपछि बताउँछौँ।”
यसअघि नेपाल वायुसेवा निगम सुधारका लागि ६ वटा कार्यदलले प्रतिवेदन बुझाएको थियो।
तिनका सुझाव समेतलाई हेरेर पछिल्लो प्रतिवेदनलाई ‘अन्तिम’ बनाउने भट्टराईले बताएका छन्।
यसमा सार्वजनिक, निजी साझेदारीमा जाने र रणनीतिक साझेदार खोज्ने कुरा उठाइएको छ।