संविधान दिवसमा अन्तराष्ट्रिय समुदायको शुभकामना

Diyo post  

काठमाडौँ, आसोज ३ । नेपालले चौथो संविधान दिवस मनाईँरहँदा अन्तराष्ट्रिय समुदायले शुभकामना दिएका छन् । भारत, अमेरिका, स्वीजरल्याण्ड, थाइल्याण्ड लगायत थुप्रै देशहरुले नेपाललाई शुभकामना प्रदान गरेका छन् ।

भारतका राष्ट्रपति रामनाथ कोबिन्दले राष्ट्रपति विद्यादेवि भण्डारीलाई शुभकामना सन्देश पठाएका छन् । सन्देशमा राष्ट्रपति कोविन्दले नेपाल र भारत साझा भूगोलले मात्र नभई इतिहास, सभ्यता, संस्कृति र जनता जनताबीचको सम्पर्कले जोडिएका बताएका छन् ।

भारत र नेपालबीचको साझेदारी विभिन्न क्षेत्रमा निरन्तर विस्तार भइरहेको बताउँदै भारतका राष्ट्रपतिले सन्देशमा नेपालको समृद्धि र विकासका लागि अविच्छिन्न सहयोग अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले संविधान दिवसको शुभकामना व्यक्त गर्दै अमेरिका र नेपालबीचको सात दशक पुरानो सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

स्वतन्त्र एवम सार्वभौम नेपालको विकास तथा सबै नेपाली नागरिकको समृद्धिका निम्ति अमेरिका सहयोग गर्न दृढ रहेको बताउँदै राष्ट्रपति ट्रम्पले प्राथमिकताका साझा क्षेत्रमा दुई देशबीचको साझेदारी रहने विश्वास व्यक्त गरेका छन् ।

स्विट्जरल्यान्डका राष्ट्रपति, संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीया, थाइल्यान्डका नरेश महा वजिरलोङकर्न फ्रा वजिरक्लाओचाओयुहुआ, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रो, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्रपति चो रोङ हे, अरब गणतन्त्र, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र म्यान्माका राष्ट्रपति विनमिन्टले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित खबर