जब राष्ट्रपति भण्डारीले कांग्रेस सभापति देउवालाई मजाकमा उडाईन…

दियो पोस्ट  

काठमाडौं, असोज ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार एउटा कार्यक्रममा बोलेको कुरालाई लिएर सामाजिक सञ्जालमा अनेक टीकाटिप्पणी भइरहेका छन्।

राष्ट्रपतिको भनाइबारे भिडिओसहितको समाचार शुक्रवार साँझतिर केही वेबसाइटमा आएदेखि नै आलोचना र प्रतिरक्षामा विभिन्न धारणाहरू आइरहेका छन्।

एकथरीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बोलीमा हुने अस्पष्टतालाई लिएर राष्ट्रपतिले होच्याएको तर्क गरेका छन् भने अर्कोथरीले राष्ट्रपतिको भनाइलाई गलत रूपमा अर्थ्याइएको बताइरहेका छन्।

भण्डारीका एक सल्लाहकारले राष्ट्रपतिलाई “अनावश्यक रूपमा विवादमा मुछ्न खोजिएको” बताए।

काठमाण्डूस्थित राष्ट्रिय सभागृहमा शुक्रवार गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक विभूषण तथा अभिनन्दन कार्यक्रममा अतिथिका रूपमा राष्ट्रपति भण्डारी पनि सहभागी भएकी थिइन्।

कार्यक्रमलाई राष्ट्रपति भण्डारीले नेपाली कांग्रेस सभापति देउवापछि सम्बोधन गरेकी थिइन्।

उनले भनिन्, “यो मञ्चमा वक्ताले बोलेको केही बुझिँदोरहेनछ। नेताहरू जोसिएर बोल्नुभयो। फ्लोरबाट एकदम स्वागत भयो, ताली बज्यो। राम्रो बोल्नुभएको होला भन्ने चाहिँ लाग्यो।”

राष्ट्रपति भण्डारीले त्यति भनेपछि दर्शकदीर्घाबाट हाँसोको फोहरा फुट्यो। अनि राष्ट्रपति पनि मुसुक्क हाँसेको सार्वजनिक भएको भिडिओमा देखिन्छ।

त्यसपछि उनले भनिन्, “तर के बोल्नुभयो भन्ने कुरा चाहिँ मैले आमरूपमा बुझिनँ।”

पूर्ववक्ताले बोलेका कुरा आफूले नबुझ्नुमा मञ्चको व्यवस्थापनसम्बन्धी समस्या भएको हुन सक्ने राष्ट्रपतिले बताइन्।

आफ्नो कानतिर हात लग्दै राष्ट्रपति भण्डारीले भनिन्, “कान सुनिएन, यहाँ बुझिएन। त्यसैले यहाँहरूले के बोल्नुभयो भन्ने कुरा अब मिडियाबाट थाहा पाइएला।”

यी सबै भनिरहँदा राष्ट्रपति भण्डारीले कहीँ कतै पनि नेता देउवाको नाम उल्लेख गरेको चाहिँ पाइएन।

राष्ट्रपति भण्डारीभन्दा पहिला कार्यक्रमलाई सम्बोधन गरेका कांग्रेस सभापति देउवाले विभिन्न विषयमा सरकारको आलोचना गरेका थिए।

उनले ऐन तथा विनियमहरू ल्याएर वर्तमान सरकारले संविधानको मूलभूत मर्ममाथि नै प्रहार गर्न खोजेको आरोप लगाए।

देउवाले प्रश्न गरे, “दुईतिहाइको सरकार भन्दैमा प्रजातन्त्रका आधारभूत कुरा हटाउन पाइन्छ?”

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले यो घटनाबारे भएको आलोचनालाई बेलाबेला राष्ट्रपतिलाई विवादमा तान्ने प्रयासका रूपमा अर्थ्याएका छन्।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय मनोविज्ञान विभागस्थित प्राध्यापक डा. शिशिर सुब्बा कतिपय मानिसहरू हिजोआज आलोचना गर्नैका लागि अर्काको गल्ती कुरेर बस्ने गरेको बताउँछन्। बीबीसी नेपाली सेवाबाट