काठमाडौँ, असोज ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देशमा अराजक तत्वहरुको विगविगी हुन थालेको संकेत गरेका छन् ।
आइतबार, विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले देशमा कुनै किसिमको खतरा नभएपनि पछिल्लो समय अराजक तत्वको गतिविधी बढ्न थालेको बताउँदै त्यसको प्रतिवाद गर्नुपर्ने बेला आएको बताएका छन् ।
उनले भ्रष्टाचारका विरुद्ध पार्टी र सरकार अघि बढिरहेको दाबी गरे। यसका परिणामहरु विस्तारै देखिन थालेको छ, उनले भने।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाका निम्ति सबै राजनीति दलहरु सबै एक ठाउँमा भएको बताए।
प्रचण्डले सरकार र पार्टीको कामको समीक्षा गरिरहेको बताए। यसलाई नयाँ शिराबाट गति दिनेबारे कुरा भइरहेको छ। मलाई लाग्छ, आउने समयमा कामहरु देखिन थाल्छन ।’ उनले भने।
उनले सरकारले काम नै गरेन भन्ने कुरा सत्य नभएको बताए। थुप्रै मौलिक हक सम्बन्धी कानुन बने, छिमेकीसँगको सम्बन्धमा सुधार आयो, उनले भने, भारतसँगको पेट्रोलियम पदार्थको पाइपलाइन ठूलै उपलब्धि हो। चीनसँग राम्रो सम्बन्ध र आधारहरु बनेका छन्।
अध्यक्ष दाहालले आफुलाई मन्त्रीमण्डल पुनर्गठनको विषयमा प्रश्न नगर्नसमेत आग्रह गरे । यस विषयले आफुलाई हैरान पारेको बताउँदै दाहालले प्रधानमन्त्रीले चाहेको बेला मन्त्रीमण्डल पुनर्गठन हुने बताएका छन् ।