टि.आर. बिश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार स्थापना

Diyo post  

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ नेपालले पत्रकारिता र राजनीतिक आन्दोलनमा योगदना दिएका तीन जना दलित नेताहरुको नाममा पत्रकारिता पुरस्कार स्थापना गरेको छ । संघको आइतवार बसेको बैठकले लामो समय आन्दोलनमा सक्रिय नेता लेखक एवं सम्पादक टि.आर. बिश्वकर्माको सम्मानमा “टि.आर. बिश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार” स्थापना गरेको हो ।

संघले राणा शासनका बिरुद्ध आन्दोलन चलिरहँदा कुचीकारको काम गर्दै कारागारबाट गणेशमान सिंह लगायतका नेताहरुको चिट्ठी आदानप्रदान गर्ने राममाया च्यामेको सम्मानमा “राममाया च्यामे लोक पत्रकारिता पुरस्कार”को समेत स्थापना गरेको छ । त्यसैगरी नेपाली काँग्रेका संस्थापक, लेखक एवं नेपाली चलिचत्रका पहिलो निर्देशक देवब्रत परियार (डिबी परियार) को सम्मानमा देवब्रत परियार स्मृति राष्ट्रिय पुरस्कारको पनि स्थापना गरेको छ ।

सो अवसरमा राष्ट्रिय दलित पत्रकार संघ नेपालले सात प्रदेशका इन्चार्जहरु नियुक्ति गरिएको छ । प्रदेश नम्बर एकमा पर्वत पोर्तेललाई प्रदेश इन्जार्च नियुक्त गरिएको संघका केन्द्रीय अध्यक्ष एवं पूर्वसांसद बिनोद पहाडीले जानकारी दिए । त्यसैगरी प्रदेश नम्बर दुईमा पत्रकार भोला पासवान, प्रदेश तीनमा भीमबहादुर घिमिरे, गण्डकी प्रदेशमा दिपक परियारलाई प्रदेश इन्चार्ज तोकिएको छ ।

त्यस्तै, प्रदेश पाँचमा सोना खटिक, कर्णाली प्रदेशमा अमर सुनार र सुदुरपश्चिम प्रदेशमा मिलन परियालाई प्रदेश इन्चार्ज नियुक्त गरिएको छ । संघको स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान गरिने अध्यक्ष पहाडीको भनाई छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल देशभर क्रियाशील झण्डै १२ सय दलित समुदायका पत्रकारहरुको छाता संगठन हो ।

सम्बन्धित खबर