काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एकैपटक पाँच सय ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ गरेको छ । ट्राफिक सवारी क्यू, जाम र सडक यात्रुहरुलाई मध्यनजर गर्दै महाशाखाले एकैपटक पाँच सय ट्राफिक स्वयंसेवक परिचालन गरेको हो ।
१५ दिनसम्म चल्ने भनिएको अभियानमा ट्राफिक स्वयंसेवकले जेब्रा क्रसिङमा यात्रुलाई सहयोग गर्ने, पैदलयात्रुलाई फुटपाथ तथा आकाशेपुल प्रयोग गर्न सहयोग गर्ने, ‘पिक एण्ड ड्रप’ व्यवस्थित गर्ने, लेन व्यवस्थापन गर्ने र यात्रु सहायता कक्षमा रहेर सहयोग गर्ने काम गर्ने महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए ।
अभियान उपत्यकाको दरबारमार्ग, केशरमहल, जमल, वीर अस्पताल, न्यूरोड, त्रिपुरेश्वर, कलंकी, महाराजगञ्ज, बीएण्डबी अस्पताल, कोटेश्वरलगायतका २५ स्थानमा सञ्चालन हुनेछ । २५ स्थानमा २० जनाको दरले स्वयंसेवक परिचालन हुनेछन् ।
ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन झण्डै २ दर्जन विद्यालय, दुई युवा क्लब, १६ यातायात प्रा.लि., १० ख्यातिप्राप्त कलाकार, १२ एयरहोस्टेससहित ५०० स्वयंसेवकको सहभागिता रहने बताइएको छ । महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आइतबारदेखि ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका स् गृहमन्त्री थापा
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको बताए । गृहमन्त्री थापाले संसार बदल्ने युवा जनशक्ति भएकाले युवालाई समावेश गरेर अगाडि बढ्न जरुरी रहेको बताए ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन यो अभियानले सहयोग पुग्ने उनको भनाइ थियो । उनले सडक दुर्घटनाका कारण वर्षेनी दुई हजारभन्दा बढी व्यक्तिको ज्यान जाने गरको भन्दै यस्ता अभियानलाई १५ दिनमात्र नभएर वर्षभरि चलाउनसके दुर्घटनामा समेत कमी आउने बताए ।
यस्तै कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले चालु आ.ब.लाई सरकारले युवा परिचालन वर्षका रुपमा घोषणा गरेकाले समृद्ध मुलुक निर्माणका लागि युवालाई परिचालन गर्ने बताए । उनले यस वर्ष परिषद्ले युवामुखी ११ कार्यक्रमलाई अगाडि सारेको भन्दै सभ्य र अनुशासित युवा निर्माणमा यस्ता अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यस्तै प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष नजिकिएसँगै विदेशी पर्यटकको पहिलो नजरमा ट्राफिक व्यवस्थापन र ट्राफिक प्रहरी पर्ने भएकाले यसलाई चुस्त, दुरुस्त बनाउन मातहतलाई निर्देशन दिएका छन् । ‘राजधानीको प्रमुख पर्यटकीयस्थल ठमेल र प्रमुख धार्मिकस्थल पशुपतिनाथमा सवारी प्रवेश निषेध गरेकाले यहाँको सौन्दर्यता बढेको छ’, उनले भने ।
कार्यक्रममा हास्य कलाकारद्वय मनोज गजुरेल र जीतु नेपालले ट्राफिक नियमलाई चुस्त, दुरुस्त बनाउनका लागि हरेक व्यक्तिमा जनचेतना आवश्यक रहेको उल्लेख गरेका थिए ।