काठमाडौँ, असोज ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनाका मुख्य अभियुक्त ठहर भई जेलमा रहेका सांसद रेशम चौधरीलाई रिहा गर्ने संकेत दिएका छन् । आइतबार जितिया महोत्सवलाई सम्वोधन गर्न सुनसरी पुगेका अध्यक्ष दाहालले टीकापुर घटनाका सम्वन्धमा बालुवाटारमा छलफल भएको समेत बताएका छन् ।
उनले बालुवाटारमा भएको छलफलमा टिकापुर घटनाको झुठा मुद्धा खारेज गरिने सैद्धान्तिक सहमती भइसकेको बताएका छन् । सहमतीसँगै मुद्धा खारेज गरिने प्रक्रिया समेत अगाडी बढेको बताएका छन् । उनले मुद्धा खारेजीसँगै बन्दी अवस्थामा रहेका थारुहरु जेलमुक्त हुने घोषणा समेत गरे ।
सम्वोधनको क्रममा रेशम चौधरीको नाम नलिएपनि अध्यक्ष दाहालले जनताको मतबाट जितेका माननीयहरुलाई ससम्मान ल्याउन बातावरण बन्छ सम्म भनेका छन् ।
कैलाली १ बाट प्रतिनिधिसभा चुनाव जितेका चौधरीलाई टीकापुर घटनामा जन्दकैदको सजाय सुनाइएको छ । उनी जेलमै रहेका बेला सपथसमेत लिएका थिए ।
नेकपा अध्यक्ष प्रचण्डले शान्तिपूर्ण दबावबाटै संविधान संशोधनका लागि वातावरण बनाउनुपर्ने धारणा राखे । संविधान बनाउने क्रममा नै आफूले यो पूर्ण छैन भनेर भनेर लिखित असहमति राखेको स्मरण गर्दै उनले भने, ‘संविधान गतिशील दस्तावेज हो र संशोधन गर्दै जाने प्रयास निरन्तर जारी छ ।’

थारु समाजले जनयुद्धमा अग्रणी भुमिका खेलेको भन्दै अध्यक्ष दाहालले भने ‘थारु समुदाय राष्ट्र निर्माणको पक्षमा इतिहासदेखि नै अग्रणी स्थानमा छ ।’
थारुलाई मधेसी र जनजाति कोटामा नराखी छुट्टै पहिचान दिलाउन संवैधानिक थारु आयोग बनाइएको उनले बताए । ‘यसअघिका सरकारले छुट्टै थारु आयोग बनाएका थिएनन्, उनले भने, ‘थारु समुदायले भने छुट्टै पहिचानको माग गर्दै आएका थिए ।’
फोटोः प्रचण्डको सचिवालय