काठमाडौँ, असोज ५ । टेलिभिजन प्रस्तोता रवि लामिछानेसँगै पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्की सोमबार सम्म चितवन बस्नुपर्ने भएको छ । पत्रकार शालिकराम पुडाशैनी मृत्यु प्रकरणलाई लिएर जिल्ला अदालत चितवनले वादी र प्रतिवादीको साक्षीको बकपत्र शुरु हुने भएकोले आरोपी तीनै जना चितवन बस्नु पर्ने बताइएको हो ।
आइतबारदेखि चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासमा पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्धामा वादी र प्रतिवादीको साक्षीको बकपत्र शुरु हुनेछ । शालिकरामकी श्रीमती सम्झनाले रविसहित ३ जनाविरुद्ध जाहेरी दिएपछि उनको पनि बकपत्र लिइने छ ।
यस्तै सरकारी पक्षका जाहेरीकर्ता, अनुसन्धानकर्ता, शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिक गरि १३ जनाको बयान लिइने छ ।
यसअघि जिल्ला अदालत चितवनले पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछाने, युवराज कँडेल र अस्मीता कार्कीलाई धरौटीमा रिहा गर्न आदेश गरेको थियो । रवि ५ लाख तिरेर रिहा हुँदा युवराज कँडेललाई ३ लाखमा रिहा गर्न अदालतले आदेश गरेको थियो । अर्की आरोपी अस्मीता कार्कीलाई भने विना सर्त साधारण तारेखमा रिहा गरिएको थियो ।